२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

खजुरगाछी दुर्गा मन्दिरको आय–व्यय विवरण सार्वजनिक, संस्थामा १ लाख ५३ हजारभन्दा बढी मौज्दात



गौरीगञ्ज१९, कार्तिक ÷ झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित श्री खजुरगाछी दुर्गा मन्दिर व्यवस्थापन समितिले वडा दशैँ तथा मेलाको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको छ।

शुभ दीपावली, छठ तथा हरिमेदनी एकादशी पर्वको अवसरमा मन्दिर परिसरमा आयोजित शुभकामना आदानप्रदान तथा पूर्व समिति सम्मान कार्यक्रममा समितिले आय–व्यय प्रतिवेदन सार्वजनिक गरेको हो।

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यता तथा दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सार्वजनिक गरिएको समितिका सचिव रोशन यादवले कुल ६ लाख ५९ हजार ३८७ रुपैयाँ आम्दानी र ४ लाख ८७ हजार ४६२ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरेका थिए ।
समितिका अनुसार चन्दा रसिदबाट उठ्न बाँकी रहेको रकम १८ हजार ५६० रुपैयाँ रहेको छ। उठ्न बाँकी रकमसहित संस्थामा कुल १ लाख ५३ हजार ४८५ रुपैयाँ मौज्दात रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेश निरौला, गौरीगञ्ज गाउँपालिका वडा नं. ३ का अध्यक्ष श्रवण गिरी, झापा उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष रूपक श्रेष्ठ, गौरीगञ्ज बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मखना महतो, सशस्त्र सीमा सुरक्षा बल गौरीगञ्जका डीएसपी किशोर श्रेष्ठ, इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक कैलाश अधिकारीलगायत स्थानीय व्यापारी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

सोही अवसरमा मन्दिरको विकास, व्यवस्थापन तथा वडा दशैँ मेला सञ्चालनमा योगदान पुर्‍याएका पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरूलाई सम्मानसमेत गरिएको थियो।

आय–व्यय विवरण सार्वजनिक गर्दै समितिले संस्थागत पारदर्शिता र आर्थिक जवाफदेहिताको अभ्यासलाई अघि बढाएको छ। धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै सार्वजनिक आम्दानी र खर्चको विवरण समुदायसमक्ष प्रस्तुत गर्ने कार्यले मन्दिरप्रतिको विश्वास र सामूहिक अपनत्व बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८३, बिहिबार  ५ : १३ बजे