१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

बुढीगंगा गाउँपालिका बासवारी मुसहरवस्तीमा आशाको उज्यालो : लागुऔषध विरुद्ध अभियानले बद्लिँदै जीवन



फोटो : नारायण राजवंशी

आत्माराम राजवंशी / बुढीगंगा गाउँपालिका–३ स्थित बासवारी मुसहरवस्ती। करिब ६५ घरधुरी बसोबास रहेको यो बस्तीमा रिषिदेव समुदायको बाहुल्यता छ। पुस्तौंदेखि गरिबी, अशिक्षा र सामाजिक उपेक्षाको सिकार बन्दै आएको यो समुदाय पछिल्लो समय अर्को गम्भीर समस्यासँग जुधिरहेको थियो—लागुऔषध दुर्व्यसन।

बस्तीमा रहेका करिब ३० जना युवायुवतीमध्ये झण्डै १० जना लागुऔषध दुर्व्यसनको चपेटामा परेका थिए। काम नपाउनु, भविष्यप्रति निराशा, चेतनाको अभाव र गरिबीका कारण युवाहरू कुलततर्फ आकर्षित हुँदै गएका थिए। यसले न केवल युवाहरूको जीवन अन्धकारतर्फ धकेलिरहेको थियो, परिवार र समग्र समुदाय नै संकटमा पर्दै गइरहेको थियो।

यही अवस्थामा लुथरन संस्थाले बासवारी मुसहरवस्तीलाई लक्षित गरी लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्‍यो। नियमित छलफल, परामर्श, मनोसामाजिक सहयोग तथा समुदायस्तरीय अन्तरक्रियामार्फत युवाहरूलाई कुलतबाट बाहिर ल्याउने प्रयास सुरु गरियो। अभियानको प्रभाव विस्तारै देखिन थाल्यो।

लागुऔषध दुर्व्यसनमा फसेका धेरै युवाहरू अहिले सुधारको बाटोमा छन्। विशेषगरी दुई जना युवा सिटी चलाएर जीविकोपार्जन गर्न सफल भएका छन्। पहिले नशाको लतले थलिएका ती युवाहरू अहिले परिवारको जिम्मेवारी बहन गर्दै आत्मनिर्भर बन्ने प्रयासमा जुटेका छन्। उनीहरूको परिवर्तनले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

यद्यपि, बस्तीका समस्याहरू यत्तिमै सकिँदैनन्। बासवारी मुसहरवस्तीका अधिकांश परिवार ऐलानी जग्गामा बस्दै आएका छन्। सुकुम्बासी फारम भरे पनि अहिलेसम्म कसैले जग्गाधनी पूर्जा पाएका छैनन्। स्थायी बसोबासको अभावले उनीहरूको जीवन अझै असुरक्षित बनेको छ।

स्थानीय दिल कुमार रिषिदेव भन्छन्, “यस्तो किसिमको अभियान गाउँमा निरन्तर चलाउन सके अझ धेरै सुधार आउँछ। हाम्रो समुदायमा पहिलेदेखि नै अशिक्षा र गरिबी छ, त्यसमाथि केटाकेटी कुलतमा फस्यो भने हामी पूरै बर्बाद हुन्छौँ।” उनका शब्दहरूमा समुदायको पीडा र भविष्यप्रतिको चिन्ता स्पष्ट झल्किन्छ।

लुथरन संस्थाको पहलले बासवारी मुसहरवस्तीमा आशाको किरण देखिएको छ। तर दीर्घकालीन सुधारका लागि राज्यको ध्यान, शिक्षा, रोजगारीका अवसर र भूमिहीन समस्या समाधान अपरिहार्य देखिन्छ। लागुऔषध विरुद्धको यो अभियानले एउटा उदाहरण स्थापित गरेको छ—सही पहल र साथ पाउँदा परिवर्तन सम्भव हुन्छ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ५ : २३ बजे