१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

समानुपातिक सूचीमा पहुँचवालाको राज, झापाका उत्पीडित समुदाय फेरि उपेक्षित



भोट हाल्दै गरेको एक आदिवासी महिला ( प्रोफाइल)

झापा १६, पुष / जसको अमूल्य मत लिएर चुनाव जित्ने गरेका छन् , तिनै भूमिपुत्र र भुइँमान्छेहरुलाई राजनीतिक दलहरुले बेवास्ता गरेका छन् । सँधै ‘भोटबैंक’ संझिने दलहरुको मानसिक दरिद्रता यस पटक झनै बढेको देखियो ।

जेनजी आन्दोलनपछि नयाँ शक्तिको रुपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टी, झापाका उत्पीडित आदिवासीहरुप्रति अझ बढी अनुदार देखिएका छन् । आधुनिक नेपालको निर्माणदेखि नै एउटा निश्चित वर्ग र समुदायले सत्तामा प्रभुत्व जमाउँदै आइरहेको छ, राज्यसत्ताको अविराम दोहन गरिरहेका छन्‌ । यति मात्रै होइन, जनसंख्यामा उल्लेख्य हिस्सा ओगट्ने आदिवासी , दलित, मधेशी र अन्य सीमान्तीकृत समुदायमाथि निरन्तर दमन, अत्याचार, विभेद र बहिष्करणको शृङ्खला चलाएका छन्  । जुन यस पटक पनि जारी छ । उत्पीडित र अल्पसंख्यकको कोटामा आफ्‌नै परिवारका , आफ्‌नै जाति समुदायका, मालदार व्यापारी घरानाकालाई पारेर बेइमानी गरेकै छन् ।

जातीय पहिचानको नारा भजाएर राजनीति गर्न खप्पिस तत्कालीन माओवादी केन्द्र सम्मिलित नेपाली कम्युनिष्ट पार्टीले समेत झापाका उत्पीडित आदिवासीहरुलाई संझेन । सो पार्टीले समानुपातिक उम्मेदवारका लागि आदिवासी समुदायका मुकुलचन्द्र राजवंशी , कोविलाल मेचे, सनम राजवंशी, मोहन टुडु, हिरा राजवंशी , प्रतिक राजवंशी , चन्द्रमोहन राजवंशी , सुलोचना राजवंशीसहित ३६ जनाको नाम सिफारिस गरेको थियो । तर,कोही पनि परेनन् । समानुपातिक उम्मेद्वारहरुको बन्दसूची पठाउने कार्यमा त्रुटि भएको स्वीकार्दै त्यसलाई सच्याउन आग्रह गरिएको नेकपाका जिल्ला इन्चार्ज रंजित तामाङले बताए । उनले कोचभूमि झापाबाट एकजना पनि कोच नपर्नु दुर्भाग्य भएको बताउँदै झापाबाट कम्तीमा दुईजनालाई समेट्न आग्रह गरिएको जानकारी दिए । त्यस्तै विभिन्न शक्ति मिलेर शक्तिशाली पार्टीको रुपमा उदय हुन लागेको रास्वपाले समावेशीताको मुद्धालाई प्राथमिकता दिएको पाइएन ।

आन्तरिक प्रतिष्पर्धाको नाममा पछि परेका जाति समुदायलाई सँधै पछि नै राख्ने नीति लिएको रास्वपा , झापाका आदिवासी समुदायका बारेमा बेखबर देखियो । सो पार्टीबाट मनोज राजवंशीसहित १४ जनाले समानुपातिक उम्मेद्वारका लागि दर्ता गरेपनि कोही पनि परेनन् । रास्वपामा कोशी प्रदेशका लागि समानुपातिकतर्फ १० जना महिला समेट्ने गरी खस आर्य ६ , आदिवासी जनजाति २ , मधेसी २ , दलित २ र थारु एक गरी २० जनाको कोटा छुट्याइएको थियो । त्यस्तै पुरानो पार्टी नेपाली कांग्रेसले पनि समानुपातिक प्रणालीको मर्म विपरीत पटक–पटक अवसर पाएका नेता, तिनका आफन्त र टाठाबाठालाई मात्र अगाडि सारेको पाइयो । झापाबाट ४४ जनाको नाम सिफारिस गरिएकोमा सुशीला ढकाल , उमा शिवाकोटी , गोमा भट्टराई , राधा कार्की र मनुमाया विश्वकर्मा भाग्यमानी सावित भए ।

चारैजना महिलामा तीनजना खस समुदायका र एकजना दलित समुदायका हुन् । उनीहरु पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला , वर्तमान महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगन थापा निकट मानिन्छन् । समानुपातिकतर्फ खड्गबहादुर धिमाल,पाण्डवलाल चौधरी, रणदेव हजाम,हरिकृष्ण घोष, खड्ग राजवंशी, बडाराम हेमरम, कृष्णकली राजवंशी,सूर्यनारायण ताजपुरिया, सुन्दर बेस्रा, सत्यनारायण चौधरी, रोहितकुमार शाहलगायतका आदिवासी , मधेसी, सीमान्तकृत समुदायका व्यक्तिहरुको नाम पठाएपनि एकजना पनि परेनन् । त्यस्तै नेकपा एमालेले मुश्किलले एकजना आदिवासीलाई समेटेको छ । झापाबाट ९ जना परेकोमा आदिवासी समुदायका विद्यानन्द राजवंशी मात्र परेका छन् । दलित समुदायका तीनजना परेका छन् भने खस समुदायका तीन र मधेसी समुदायका एकजनालाई प्राथमिकता दिइएको छ । एमालेले विगतका आम निर्वाचनमा समानुपातिकमा अवसर पाएकालाई अपवादबाहेक नदोहोर्‍याउने नीति लिएको थियो । तर यस पटक पनि वरिष्ठ नेता र पहिले अवसर पाइसकेकालाई समानुपातिकमा दोहोर्‍याएको हो । त्यस्तै आगामी निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारको बन्दसूचीमा झापाका ६ जना अटाएका छन् । त्यसमध्ये उत्पीडित आदिवासी समुदायका दुईजना तथा जनजाति, मधेसी,दलित र खस समुदायका एक–एकजना रहेका छन् । राप्रपाले आयोगमा ११० जनाको नाम बुझाएको हो । त्यसमा झापाबाट धर्मराज माझी , खुश्बु ओली , भरिपूर्ण राई , संगीता रौनियार , रुपदल विश्वकर्मा र सूर्यनारायण गणेश परेका छन् । उपेक्षित, उत्पीडित वर्ग, समुदाय तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत दलहरूले यस पटक पनि पहुँचवालालाई उम्मेदवार बनाएका छन्‌ ।

यसरी एउटा निश्चित वर्ग र समुदायले प्रभुत्व जमाएको निर्वाचनमा भाग लिनुको औचित्य आफूले नदेखेको बिर्तामोडका राम राजवंशी बताउँछन् । भोटबैंक बनेर अरुलाई जिताएर कमाउने भाँडो बनाइदिनु भन्दा निर्वाचन नै बहिष्कार गर्नु उचित हुने उनको भनाई छ । २०७८ को जनगणना अनुसार झापामा खस समुदायपछि दोस्रो स्थानमा राजवंशी जातिको जनसंख्या रहेको छ । जनगणनाअनुसार राजवंशी १ लाख ३० हजार १६३ , सन्थाल ५३ हजार ६७७ , गन्गाई २६ हजार २८१ , ताजपुरिया २० हजार ३४९ र धिमाल २० हजार ५८३ को संख्यामा रहेका छन् ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ४ : २६ बजे