३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

सानो व्यवसाय र अधिकारको खोजी : कानेपोखरीका संघर्षशील महिलाका कथाहरू



आत्माराम राजवंशी / झापा जिल्लाको कानेपोखरी गाउँपालिका–२ की इन्वती राजवंशी विगत करिब २० वर्षदेखि पापड र कचौरीको सानो दोकान सञ्चालन गर्दै आफ्नो परिवारको गुजारा चलाउँदै आएकी छन्। दुई छोरीसहित तीन जनाको परिवार पाल्दै आएकी इन्वतीको जीवन सहज भने थिएन। सीमित आम्दानी, बढ्दो खर्च र पारिवारिक जिम्मेवारीका कारण उनी निरन्तर संघर्षरत रहनुपरेको थियो।

सानो व्यवसाय भए पनि निरन्तर मेहनत गर्दै आएकी इन्वतीको जीवनमा रिमझिम समूहमार्फत लुथरन संस्थाले गरेको आर्थिक सहयोगले ठूलो परिवर्तन ल्यायो। व्यवसाय विस्तारका लागि आवश्यक थप पुँजी पाउँदा उनको पापड–कचौरी दोकानमा सामग्री बढ्यो, ग्राहक संख्या बढ्न थाल्यो र आम्दानीमा समेत उल्लेखनीय वृद्धि भयो।

“पहिले जति कमाइ हुन्थ्यो, त्यति नै खर्चमा सकिन्थ्यो,” इन्वती भन्छिन्, “अहिले आधा खर्च हुन्छ, आधा बचत गर्न सकेकी छु।” व्यवसायबाट आएको आम्दानीले छोरीहरूको पालनपोषण र घर व्यवहार राम्रोसँग चल्न थालेपछि उनको आत्मविश्वाससमेत बढेको छ। सानो सहयोगले ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने उदाहरण इन्वती बनेकी छन्।

इन्वतीको कथा जस्तै कानेपोखरी गाउँपालिका–२ कै दिनानाथ रिसिदेवको जीवन पनि संघर्षले भरिएको छ। उनी ऐलानी जग्गामा बसोबास गर्दै आएकी छन्। करिब ७५ घरधुरी रहेको उक्त टोलका अधिकांश नागरिक कृषि पेशा र दिनमजदुरीमा निर्भर छन्। आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरू आधारभूत अधिकारबाट समेत वञ्चित हुँदै आएका छन्।

दिनानाथका अनुसार वडाकार्यालय र गाउँपालिकाले जग्गा नापजाँच गरेर लगिसके पनि हालसम्म जग्गाधनी पूर्जा वितरण भएको छैन। “हामी वर्षौंदेखि यहीँ बस्दै आएका छौं, तर आजसम्म पूर्जा पाउन सकेका छैनौं,” उनी भन्छिन्। ऐलानी बस्ती भएकै कारण भविष्यप्रति उनीहरू सधैं अनिश्चिततामा बाँच्न बाध्य छन्।

हाल दिनानाथ दलित कोटाबाट वडा सदस्यको रूपमा निर्वाचित भएकी छन्। जनप्रतिनिधि बनेपछि उनले आफ्नो समुदायको आवाज उठाउने प्रयास गरिरहेकी छन्। “आफूले जानेबुझेको जति जग्गाधनी पूर्जा पाउन पहल गरिरहेकी छु,” उनी भन्छिन्, “तर अहिलेसम्म सफलता मिलेको छैन।”

उनले झण्डै २५ वर्षअघि माओवादी जनयुद्धको समयमा भोगेको पीडा पनि स्मरण गरिन्। “त्यतिबेला बस्ती नै खाली गर्न भनिएको थियो,” उनी भन्छिन्, “हामीलाई बस्ने ठाउँ नहुँदा धेरै गाह्रो परेको थियो।” एक स्थानीय व्यक्तिको पहलमा पुनः त्यही स्थानमा बसोबास गर्न पाएको उनले दुखेसो पोखिन्।

इन्वती र दिनानाथका कथा फरक देखिए पनि उनीहरू दुवैको साझा पक्ष भनेको संघर्ष र आत्मनिर्भर बन्ने चाहना हो। एकातिर सानो व्यवसायलाई टेवा दिएर जीवन सहज बनाउने प्रयास छ भने अर्कोतिर आफ्नै बस्तीको अधिकार सुनिश्चित गर्न लडाइँ जारी छ।

कानेपोखरीका यस्ता कथाहरूले देखाउँछन्—सानो सहयोग, सही नीति र राज्यको ध्यान पुगेमा ग्रामीण तथा विपन्न समुदायका जीवनमा सकारात्मक परिवर्तन सम्भव छ। संघर्षकै बीच आशा खोज्दै अघि बढिरहेका इन्वती र दिनानाथजस्ता पात्रहरू नै समाज परिवर्तनका वास्तविक आधार हुन्।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ७ : १० बजे