
नारायण राजवंशी /
मोरङको कानेपोखरी नगरपालिका–२ मैनावारीका महिलाहरूका लागि केही वर्षअघिसम्म दैनिकी चलाउनु आफैँमा ठूलो संघर्ष थियो। सीमित आम्दानी, रोजगारीको अभाव, कृषि उत्पादन कम हुनु र बालबालिकाको शिक्षामा खर्च जुटाउन नसक्दा उनीहरूको जीवन कठिन अवस्थामा थियो। तर, आज यही बस्तीका महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख भएका छन्। यस परिवर्तनको मुख्य आधार बनेको छ— विश्व फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लुथरन सामुदायिक कल्याण समाजद्वारा सञ्चालित (LICED) परियोजना ।
विश्व फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लुथरन सामुदायिक कल्याण समाजको सहयोगमा गठन गरिएको सरस्वती कृषक समूह अन्तर्गत आबद्ध महिलाहरूलाई सचेतना तालिमदेखि लिएर आयआर्जनका विविध कार्यक्रममार्फत सशक्त बनाइएको छ। वि.सं. २०७७ सालदेखि समूहमा आबद्ध महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित विभिन्न चरणमा सहयोग उपलब्ध गराइएको लुथरण नेपालले जनाएको छ।
आयआर्जनका कार्यक्रम अन्तर्गत समूहका १० जना महिलालाई सुंगुर पालनका लागि प्रतिव्यक्ति १० हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ। यसले महिलाहरूलाई घरमै बसेर आम्दानी गर्न सहज बनाएको छ। साथै, महिलाहरूलाई पिट तालिम ९सीपमूलक तालिम० प्रदान गरिनुका साथै २ जना महिलालाई साना व्यवसाय सञ्चालन गर्न प्रतिव्यक्ति २० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ। यसबाट महिलाहरूले पसल, तरकारी व्यापारजस्ता साना उद्यम सञ्चालन गर्न थालेका छन्।

स्वास्थ्य र सरसफाइमा समेत लुथरण नेपालको सहयोग महत्वपूर्ण देखिएको छ। महिलाहरूलाई फिल्टर तथा सुरक्षित खानेपानी प्रयोग गर्ने चेतनामूलक तालिम दिइनुका साथै स्वस्थ पानी पिउने बानी विकास गरिएको छ। यसले परिवारमा पानीजन्य रोगको जोखिम घटेको महिलाहरू बताउँछन्।
कृषि उत्पादन बढाउने उद्देश्यले पम्पसेट, मकै रोप्ने मेसिन लगायतका कृषि सामग्री सहयोग गरिएको छ। यसले खेतबारीमा समय र श्रम दुवैको बचत भएको छ भने उत्पादनमा पनि वृद्धि भएको छ। साथै, अन्न भण्डारण गर्न आर्थिक सहयोग उपलब्ध गराइएपछि महिलाहरूले अनिकालका समयमा समेत अन्न सुरक्षित राख्न सकेका छन्।

समूहकी सदस्य परमिला मगर भन्छिन्, “पहिला घरखर्च चलाउनै गाह्रो थियो। बालबालिकालाई स्कुल पठाउने सपना जस्तै लाग्थ्यो। अहिले समूहमा बचत पनि गर्न थालेका छौँ, आम्दानी पनि भएको छ। बाबुनानीहरू विद्यालय पढ्न पाएका छन्, यही नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।”
त्यसैगरी अर्की सदस्य विमला मगर ले लुथरण नेपालको सहयोगले जीवनमा ठुलो राहत मिलेको बताइन्। “लुथरण नेपालले अन्न भण्डार निर्माणका लागि २० हजार रुपैयाँ सहयोग गर्यो। अहिले हामीले अन्न सुरक्षित राख्न सकेका छौँ। अनिकाल परे पनि परिवारको आवश्यकता पूरा गर्न सहज भएको छ,” उनले भनिन्।
समूहका महिलाहरूले थोरै भए पनि नियमित बचत गर्न थालेका छन्। यसले उनीहरूमा वित्तीय अनुशासन र आत्मविश्वास बढाएको छ। पहिले दैनिक गुजारा चलाउन धौधौ हुने अवस्था अहिले क्रमशः सुधार हुँदै गएको उनीहरूको अनुभव छ।
लुथरण नेपालको सहयोगपछि महिलाहरूको जीवनयापन सहज मात्र नभई सम्मानजनक बनेको छ। बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा ध्यान दिन सक्ने अवस्था सिर्जना भएको छ। “पहिले धेरै गाह्रो थियो, अहिले सबैको अवस्था राम्रै छ,” समूहका महिलाहरू एक स्वरमा भन्छन्।
मैनावारीका महिलाहरूको यो परिवर्तन केवल आर्थिक सहयोगको परिणाम मात्र होइन, सचेतना, सीप विकास र आत्मविश्वासको संयोजन हो। लुथरण नेपालको निरन्तर सहयोगले ग्रामीण महिलाहरूलाई आत्मनिर्भर बनाउने एउटा सफल उदाहरण प्रस्तुत गरेको छ।
आज मैनावारीका महिलाहरू आफ्नै मेहनत र सहयोगको सदुपयोगमार्फत उज्यालो भविष्यको बाटो कोर्दै अघि बढिरहेका छन्।










