२३ आश्विन २०८२, बिहिबार | Thu Oct 9 2025

गौरीगंजमा विपद् व्यवस्थापन समितिको आपतकालीन बैठक, क्षति हुन नदिन आवश्यक पूर्वतयारी



गौरीगंज १८, असोज / देशभर भइरहेको अबिरल वर्षाका कारण उत्पन्न हुन सक्ने संभावित जोखिमलाई ध्यानमा राख्दै गौरीगंज गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको आज बिहान आपतकालीन बैठक बसेको छ । गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीको अध्यक्षतामा बसेको बैठकले कन्काई र रतुवा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको ज्यान तथा सम्पत्तिमा क्षति हुन नदिन आवश्यक पूर्वतयारीका निर्णयहरु गरेको छ ।

बैठकले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत व्यवस्थापनका लागि आवश्यक तयारी गर्न तीनवटै सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, र नेपाल रेडक्रस सोसाइटिलाई तयारी अवस्थामा रहन निर्णय गरेको छ । बैठकले झापा उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष रुपक श्रेष्ठलाई तत्काल ५०÷६० परिवारका लागि राहत प्याकेज (खाद्यान्न सामग्री ) तयार पार्ने जिम्मेवारी समेत दिएको छ ।

कन्काई खोलाबाट प्रभावित हुने वडा नं. १ का होकलबारी, बिर्खे बस्ती, टप्पु, देवीगाडा, ठेकलाल बस्ती, धानगाडा, रंगीयाथान र वडा नं. २ का आमगाछी, भाकुरमारीलगायतका वस्तीहरूका बासिन्दालाई बालकल्याण माध्यमिक विद्यालय, जनकल्याण आधारभूत विद्यालय, पृथ्वीनारायण प्रावि, इन्द्रेनी प्रावि, चर्च भवन, साना किसान सहकारीको सामुदायिक भवन, रेडक्रस भवन, कन्काई सिंचाइ योजना परिसर र रामजानकी विद्यालय भवनमा अस्थायी आश्रय स्थलका रूपमा राख्ने निर्णय गरिएको छ ।

त्यसैगरी, छवटै वडाबाट र्‍यापिड एसेस्मेन्ट टोली गठन गरी विपद् पूर्व तथा पश्चात् क्षति न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ । राहत वितरणका लागि एकद्वार प्रणाली अपनाई गाउँपालिकाको समन्वयमा नगद तथा सामग्री वितरण गर्ने निर्णय समेत बैठकले गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम थापाको सञ्चालनमा सम्पन्न बैठकमा सुरक्षासंस्थाका प्रमुखहरू, वडा अध्यक्षहरू, उद्योग वाणिज्य संघ, रेडक्रस, एसएनजेडी, निड्स लगायत विभिन्न संस्थाका प्रतिनिधि र फोकल पर्सन राकेश राजवंशी सहभागी थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  २ : ४८ बजे