४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025

सन्थाली भाषाको ‘ओल चिकी’ लिपी प्रशिक्षण गौरीगंजमा शुरु



गौरीगंज ४, असोज / सन्थाली भाषाको ‘ओल चिकी’ लिपी सिक्ने प्रशिक्षण शनिबारदेखि झापा जिल्लाको गौरीगंज गाउँपालिका–६ स्थित राजवंशी भवनमा सुरु भएको छ । चार दिनसम्म चल्ने उक्त प्रशिक्षणमा झापा र मोरङका करिब ४० जना सहभागी रहेका छन् ।

प्रशिक्षणलाई प्रभावकारी बनाउन रिलोमाला आख्डा नेपाल, मोरङ सृजन सन्थाल बचत समूह, युएईमा स्थापित युवा जोस नयाँ सोच सन्थाल बचत समूह, मलेसियामा रहेका प्रवासी सन्थाल समुदायको सहयोगमा सूचना द उत्तर चादीँपुर कम्युनिटी सोसाइटीले आयोजना गरेको हो । नेपाल सन्थाल उत्थान समिति, गौरीगंजले व्यवस्थापन गरेको यस प्रशिक्षणमा चुर्की हस्दा, सुकु मुर्मु र ताराचन्द सोरेनले प्रशिक्षण दिइरहेका छन् ।

उद्घाटन समारोह समितिका संयोजक खुदु मुर्मुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा राजवंशी समाज विकास समितिका उपाध्यक्ष देवी प्रसाद राजवंशी, नेपाल महतो कल्याण परिषदका केन्द्रीय अध्यक्ष मखना महतो, सूचना कम्युनिटीका सुसान्त कुमार घोष, नेपाल सन्थाल आदिवासी उत्थान समितिका सोनेलाल किस्कु, बिरेन्द्र मर्डी लगायत केन्द्रीय पदाधिकारीहरु, राष्ट्रिय महिला सशक्तिकरण गौरीगंजकी अध्यक्ष नौताली राजवंशी, सामाजिक अगुवा जेठा मुर्मु लगायत स्थानिय व्यक्तित्वको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

सन्थाली समुदायको भाषा, संस्कृति र पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको आयोजकले जनाएको छ । पछिल्लो समयमा प्रवासी सन्थाल समुदायले पनि आफ्ना भेषभूषा, संस्कृति र लिपिलाई संरक्षण गर्न सक्रिय योगदान दिँदै आएको उल्लेख गर्दै प्रशिक्षणले सन्थाली भाषाको लिपिलाई स्थानीय तहमा अझै व्यापक बनाउन सहयोग गर्ने विश्वास लिइएको छ ।

सन्थाली समुदायको मौलिक लिपि ‘ओल चिकी’लाई व्यवस्थित रुपमा लेखन–पठनमा प्रयोग गर्न सकियो भने आगामी पुस्ताले आफ्नै मातृभाषामा शिक्षादेखि प्रशासनिक कार्यमा उपयोग गर्न सक्ने सम्भावना रहेको स्थानिय सामाजिक अगुवा जेठा मुर्मुले बताए । चार दिने तालिममार्फत सहभागीहरुले लिपि सम्बन्धी आधारभूत ज्ञानसँगै लेखन अभ्याससमेत गर्नेछन् ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १ : ०८ बजे