२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

गौरादहमा ‘द लिफ सैलुन’ : आधुनिक सौन्दर्य सेवासहित युवाहरूको सामूहिक लगानीको नयाँ यात्रा



गौरादह २, भाद्र /
देशका युवाहरू रोजगारीका खोजीमा विदेशिन बाध्य भइरहेका बेला आफ्नै देशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका वार्ड नं. २, डिपु चौक पूर्व सिदार्थ बैंक छेउमा आज विहिवार ‘द लिफ सैलुन’ भव्य रूपमा उद्घाटन गरिएको छ । उद्योग वाणिज्य संघ गौरादहका उपाध्यक्ष दिलबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहले स्थानीय क्षेत्रमा सौन्दर्य सेवा र आत्मनिर्भर उद्यमशीलताको नयॉ अध्यायको सुरुवात गरेको छ ।

करीब ५० लाख रुपैयाँको सामूहिक लगानीमा स्थापन भएको यस सैलुनमा ११ जना युवाको सपना र संकल्प मिसिएको छ । कम्पनीका सचिव सुभाष राजवंशीले सेवाग्राहीलाई गुणस्तरीय, आरामदायी र सर्वसुलभ सेवा दिने प्रतिबद्धता जनाउँदै यस सैलुनलाई सामान्य ब्युटी सेन्टरभन्दा फरक पहिचान दिने विश्वास व्यक्त गरे । उनका अनुसार, द लिफ सैलुनले जेन्ट्स र लेडिज दुवैका लागि हेयरकट, मेकअप, फेसियल, स्किन केयर, हेयर कलरिङ, नेल आर्टदेखि लिएर सम्पूर्ण ब्युटिसियन सेवा उपलब्ध गराउनेछ । साथै, ग्राहकलाई थप सहज बनाउन सैलुनसँगै क्याफेको सुविधा पनि समावेश गरिएको छ ।

सैलुनमा हाल ८ जना प्रशिक्षित कर्मचारीहरूले सेवा दिनेछन् भने अनुभवी प्रशिक्षकद्वारा आधुनिक हेयरकटिङ र ब्युटिसियन सेवा प्रदान गरिनेछ । यसले गौरादह मात्र नभई आसपासका स्थानका सौन्दर्य सेवाग्राहीलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले आगामी दिनमा सैलुन सम्बन्धी एकेडेमिक प्रशिक्षण सञ्चालन गर्ने र ग्राहकले आफ्नै घरमा बसेर कम्पनीका प्रोडक्ट तथा सेवा अनलाइनमार्फत पाउने व्यवस्था गर्ने योजना समेत अघि सारेको छ । यसले रोजगारीका अवसर मात्र नभई युवाहरूमाझ सीप विकास र आत्मनिर्भरता बढाउने लक्ष्य लिएको छ ।

द लिफ सैलुनमा सुभाष राजवंशी, पञ्चम राजवंशी, विक्रम राजवंशी, सौगात राजवंशी, विजय प्रचाप सिंह राजवंशी, टेकनारायण राजवंशीलगायत ११ जनाको सामूहिक लगानी रहेको छ । उनीहरूको एकताबद्ध प्रयासले गौरादहमा सौन्दर्य व्यवसायलाई नयॉ ढंगले अघि बढाउने विश्वास व्यक्त गरिएको छ ।

आजको आधुनिक बजारमा आकर्षक व्यक्तित्व र सौन्दर्यतालाई आत्मविश्वाससँग जोड्ने गरिन्छ । यसैलाई ध्यानमा राख्दै द लिफ सैलुनले ग्राहकलाई उत्तम अनुभव दिने उद्देश्य राखेको छ । सुविधाजनक वातावरण, अनुभवी हात, आधुनिक प्रविधि र ग्राहकमैत्री मूल्य संरचना यस सैलुनको मुख्य आकर्षण हुने बताइन्छ ।

गौरादह, दमक, गौरीगंजलगायत का बासिन्दाले अब गुणस्तरीय सौन्दर्य सेवा लिन टाढासम्म धाउनुपर्ने छैन । आफ्नै शहरमा सुरु भएको ‘द लिफ सैलुन’ सौन्दर्यप्रेमीहरूमाझ अबको पहिलो रोजाइ बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ४ : ५७ बजे