११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

गौरीगञ्जमा नेतृत्व विकास तालिम सम्पन्न, युवा नेतृत्व निर्माणमा जोड




गौरीगञ्ज १४, असार / गौरादह जेसिजको आयोजनामा र संभावित गौरीगञ्ज जेसिजको व्यवस्थापनमा सम्पन्न नेतृत्व विकास तालिम प्रभावकारी रूपमा सम्पन्न भएको छ। नेतृत्वदायी क्षमताको विकास गर्दै युवाहरुलाई सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने उद्देश्यसहित आयोजित तालिम गौरीगञ्ज गाउँपालिका–६ स्थित आठमौजा सहकारी भवनमा सम्पन्न भयो।

तालिमका प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर थिइन्। उहाँले कार्यक्रम उद्घाटन गर्दै युवाहरुलाई नेतृत्वमा आउन प्रोत्साहित गर्दै भनिन्, “देश निर्माणको मेरुदण्ड युवाहरु हुन्। उनीहरु सक्षम र उत्तरदायी भएमा मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ।” उनले जेसिजको पहललाई सराहना गर्दै स्थानीय तह सँग सहकार्य गर्न तयार रहेको बताइन्।

कार्यक्रमको सहजकर्ता बिर्ता लेडी २०२४ की अध्यक्ष मेनुका ओली थिइन्। उनले सहभागीहरूसँग अन्तरक्रिया गर्दै नेतृत्व विकासका विभिन्न आयाम, सम्वाद कला, समस्या समाधान क्षमता र सामूहिक काम गर्ने सीपका बारेमा प्रशिक्षण दिइन्। सहभागीहरूले पनि आफ्ना अनुभव र दृष्टिकोणहरू साझा गर्दै तालिमलाई व्यावहारिक र प्रभावकारी बनाएका थिए।

कार्यक्रममा संभावित गौरीगञ्ज जेसिजका ३२ जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन संभावित गौरीगञ्ज जेसिजका महासचिव प्रवेश श्रेष्ठले गरेका थिए भने कार्यक्रम संयोजन अभिषेक गड्तौलाले गरेका थिए।

कार्यक्रमका सभापति गौरादह जेसिजका अध्यक्ष दुर्लभ कार्कीले तालिम जेसिजको मूल्य र सिद्धान्तमा आधारित रहेर आयोजना गरिएको बताए। “नेतृत्व कसैको पद होइन, जिम्मेवारी हो। हामीले सामाजिक नेतृत्व विकासमार्फत नयाँ पुस्तालाई अवसर दिने प्रयास गरिरहेका छौँ,” उनले भने।

नेतृत्व विकास तालिमले युवा सदस्यहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्ने विश्वास आयोजक संस्थाका सल्लाहकार श्याम न्यौपानेले बताए । आगामी कार्यक्रमहरुमा अझ व्यापक सहभागिता र योगदानको अपेक्षा गरिएको थियो।

कार्यक्रमले युवा र सम्भावित जेसिज सदस्यहरूलाई संगठित गर्दै सामाजिक रुपान्तरणमा उनीहरुको सक्रियता बढाउने संकेत दिएको छ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ६ : ५१ बजे