६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

ठगी मुद्यामा फरार भएका विक २४ वर्षपछि पक्राउ



गौरीगंज ४, बैशाख / झापाको हल्दिवारी वार्ड नं. १ बस्ने एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
ठगी मुद्यामा फरार भएका ६१ वर्षिय नरबहादुर विक २४ वर्षपछि पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । ठगी मुद्दामा झापा जिल्ला अदालतको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसला अनुसार उनलाई १ वर्ष कैद र ५३ हजार ३३३ रुपैयाँ जरिवाना फैसला सुनाइएको थियो ।
यसैबीच जिल्ला प्रहरी कार्यालयले गत चैत महिनामा बिभिन्न मुद्दा शिर्षकका ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ७ महिला र ४४ जना पुरुष रहेका छन् । उनीहरुलाई झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल बाँकी रहेका प्रतिवादीलाई कैद भुक्तानको लागि कारागार पठाइएको र जरिवाना असुल्न बाँकी रहेका प्रतिवादीलाई जरिवाना दाखिला गराउन लगाई छाडिएको डीएसपी खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ परेका प्रतिवादीहरुबाट कैद–२७ वर्ष ९ महिना ७ दिन तथा जरिवाना ५० लाख ४३ हजार ४१० रुपैयाँ असुल उपर भएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ९ : १३ बजे