३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

शिक्षकलाई ५ दिने तालिम



गौरीगंज २, पुस / गौरीगंज गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित ५ दिने पाठ्यक्रम प्रवोधिकरण तथा विद्यार्थी मुल्यांकन तालिम शुरु भएको छ । गौरीगंज गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीको प्रमुख आतिथ्यतामा आज सोमवारदेखि शुरु भएको हो । तालिममा गौरीगंज गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई आज पहिलो दिन कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम प्रवोधिकरण तथा विद्यार्थी मुल्यांकन तालिम दिइएको हो । गौरीगंज गाउँपालिकाको शिक्षा शाखा प्रमुख टंक खरेलको अध्यक्षतामा भएको तालिममा कक्षा १ देखि ३ सम्मको गणित, विज्ञान र सामाजिक विषयबारे शिक्षकहरुलाई तालिम दिइएको थियो । शिक्षाको मन्दिर विद्यालय हो । सो मन्दिरका पुजारी शिक्षक हुन् । शिक्षक योग्य, दक्ष र शिल्पी हुनु पर्छ भन्ने मान्यता राखिन्छ । शिक्षक योग्य र दक्ष हुनलाई शिक्षक स्वयम्को पढाइ, लेखाइ र तालिम अत्यन्तै जरुरी रहेको प्रमुख अतिथि राजवंशीले बताए ।

नयाँ पाठ्यक्रम लागु भएपछि विद्यार्थीलाई अध्यापन गर्दा कठिनाई नहोस् र विद्याथीलाई बुझाउन सजिलो होस् भन्ने उद्येश्यले शिक्षकहरुलाई गाउँपालिकाको शिक्षा शाखाले तालिमको आयोजना गरेको शाखा प्रमुख खरेललले बताए । तालिममा कक्षा १–३ मा भाषा विषय अध्यापन, कक्षा ४–८ मा गणित, विज्ञान र भाषा विषय अध्यापन गराउने, कक्षा ९ देखि १० मा सामाजिक, गणित, विज्ञान र भाषा विषयहरु अध्यापन गराउने कार्यसूची रहेको छ । पुस ६ गते सम्म सञ्चालन हुने तालिमको सहजिकरण घनश्याम अधिकारी, टीका सुवेदी, कर्मा शेर्पा, घनश्याम गौतम, शेखर तिवारी, गोपाल बुढाथोकीले गरिरहेका छन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा, शिक्षा शाखा प्रमुख टंक खरेललगायतको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन कर्मा शेर्पाले गरेका थिए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : ४९ बजे