४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

 कमल नगर अस्पतालमै अध्यक्ष राइको डेंगु  उपचार   



  

दमक/ कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईलाई डेंगु संक्रमण भएको छ । सरकारी स्वामित्वको कमल नगर अस्पतालमा मंगलबार गरिएको स्वास्थ्य परिक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएको हो ।
 दुई दिनदेखि उच्च ज्वरो आउने र टाउको दुख्ने लक्षण देखिएपछि अध्यक्ष राई मंगलबार दिउँसो क्याम्पास्थित कमल नगर अस्पतालमा परिक्षणका लागि गएका थिए ।  अध्यक्ष राईले स्वास्थ्य बीमा कार्डको प्रयोग गरी अस्पतालबाट सो सेवा लिएका हुन ।  
राईले सरकारी स्वामित्वको सो अस्पतालको सेवाप्रति सर्वसाधारण नागरिकहरुको विश्वास बढाउन पालिकामा सञ्चालित अस्पतालमै स्वास्थ्य परिक्षण गराई आवश्यक उपचार सेवा समेत लिइरहेका छन । अध्यक्ष राईले भने–अस्पतालको सेवाप्रति हामी विश्वस्त छौं र आम कमलबासीलाई विश्वस्त भएर सेवा लिन अपिल गरेका छौं । अध्यक्ष राईले स्वास्थ्य परिक्षण पश्चात आफनो अवस्थासँगै अस्पतालको सेवाबारे नागरिकहरुलाई सुसुचित भई आवश्यकता अनुसार सेवा लिन अपिल पनि गरेका छन ।
गाउँपालिकाका स्वास्थ्य निरिक्षक दिपक दाहालका अनुसार सो गाउँपालिका अन्तर्गतको कमल नगर अस्पताल र लखनपुर स्वास्थ्य चौकीमा डेंगु परिक्षण गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य विभागको सर्कुलर अनुसार दैनिक डेंगु संक्रमितको तथ्याङक उपलब्ध गराउन भनिएको पनि निरिक्षक दाहालले बताए ।
उनले पालिकामा डेंगु संक्रमणबाट जोगिन आवश्यक जनचेतना अभिवृद्धी तथा सरसरफाई सम्बन्धि सचेतनामा जोड दिँदै बुधबार केर्खामा डेंगु लगायतका किटजन्य रोगको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने जानकारी दिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ५० बजे