५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कांग्रेस महाधिवेशनमा महिला उम्मेदवारका आकांक्षी –सांसददेखि स्थानीय चुनावका प्रत्यासीसम्म चुनाव लडदैँ




दमक/ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने झापा क्षेत्र नं ५ को क्षेत्रीय अधिवेशनमा सांसदसहित झण्डै एक दर्जन नेतृहरु महाधिवेशन प्रतिनिधिको आकांक्षीका रुपमा देखिएका छन ।
पार्टीले महिलाहरुलाई विभिन्न क्लस्टर ( समुह) मा अलग अलग कोटाको व्यवस्था गर्दै उनीहरुको प्रतिनिधित्व सुनिश्चित गरेपछि  अहिले सम्म १० जना नेतृहरु महाधिवेशन प्रतिनिधिको आकांक्षीका रुपमा देखिएका हुन । अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारका आकांक्षीहरुको संख्या अझै बढदै जाने देखिन्छ । पार्टी नेता, कार्यकर्ता र आफना शुभेच्छुकहरुसंगको परामर्श पछिनै आफूहरु विभिन्न समुह/कोटाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने दौडमा रहेको नेतृहरुको भनाई छ ।

यस क्षेत्रमा लामो समयदेखि पार्टी, तथा सांगठनिक गतिबिधिमा सक्रिय नेतृहरु महाधिवेशन प्रतिनिधिको निर्वाचनमा चुनावी मैदानमा उत्रिएका हुन । पार्टीको तर्फबाट संघीय संसद सदस्य समेत रहेकी , महासमिति सदस्य महेन्द्रकुमारी लिम्बुले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत महिला खुल्ला तर्फ महाधिवेशन प्रतिनिधि चुनिन चाहेको भन्दै सहयोग र सुझावको अपेक्षा गरेको समेत सार्वजनिक गरेकी छिन । उनी अघिल्लो संघीय संसदमा समेत समानुपातिक कोटामा सांसद बनेकी थिइन ।
त्यसैगरी यस क्षेत्रको पार्टी राजनीतिसंगै सामाजिक क्षेत्रमा क्रियाशील महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघकी क्षेत्रीय सभापति रेगिना भट्टराई ( प्रसाइँ) पनि महिला खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा चुनावी मैदानमा छिन । उनी २०७४ को स्थानीय निर्वाचनमा दमक नगरपालिका उपप्रमुखकी प्रत्यासी समेत हुन । उनले पार्टीमा आफनो निरन्तरको सक्रियतानै मतको अपेक्षा गर्ने मुख्य आधार रहेको बताइन ।

त्यसैगरी महिला खुल्ला तर्फ नेतृ रामकुमारी पौडेल चुनावी प्रतिस्पर्धामा उत्रिएकी छिन । तत्कालिन झापा क्षेत्र नं ६ बाट संविधान सभा सदस्य निर्वाचनकी प्रत्यासी समेत रहेकी नेतृ पौडेल महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएपछि महिला खुल्ला तर्फ निक्कै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
त्यसैगरी स्थानीय निर्वाचनमा गौरीगञ्ज गाउँपालिका अध्यक्षको प्रत्यासी एवं महासमिति सदस्य नेतृ फुलवती राजवंशी पनि पार्टीको महाधिवेशन प्रतिनिधिका रुपमा चुनावी दौडमा छिन । उनले आदिवासी जनजाति महिला  कोटाबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिका रुपमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ । राजनीतिक क्षेत्रमा झापा जिल्लामा नै जुझारु र सशक्त महिला नेतृको पहिचान बनाएकी उनले निष्कर्ष न्यूजसंगको कुराकानीमा आदिवासी जनजाति महिलाहरुको पहुँच अझै पनि राजनीतिक , सामाजिक र प्रशासनिक क्षेत्रमा कमै रहेकाले सशक्तिकरणका लागि आफनो उम्मेदवारी रहने बताइन ।
त्यसैगरी दमकको व्यवसायिक तथा सामाजिक क्षेत्रसंगै राजनीतिमा सक्रिय रमा लिम्बु पनि आदिवासी जनजाती महिलाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएकी छिन । दमक उद्योग वाणिज्य संघमा पहिलो महिला पदाधिकारीका रुपमा चुनिएर संघको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल रमा राष्ट्रिय महिला अधिकार मञ्च दमक नगरकी अध्यक्ष तथा सौन्दर्यकला व्यवसायी संघ झापाकी कोषाध्यक्ष समेत हुन । उनले हर क्षेत्रमा महिलाको सहभागिता र अधिकार सुनिश्चितताका लागि आफनो उम्मेदवारी रहेको बताएकी छिन ।

नेपाल बिद्यार्थी संघकी केन्द्रिय उपाध्यक्ष समेत रहेकी नेतृ तुलसा पन्तले पनि झापा ५ मा महिला खुल्लाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा गरिसकेकी छिन । कमल ७ की स्थायीबासिन्दा पन्त २०६२/०६३ को जनआन्दोलन तथा शैक्षिक आन्दोलनहरुमा राजधानीमा केन्द्रित थिइन । उनले पार्टीमा नयाँ पुस्ताको आकर्षणलाई बढाउदै महिला सहभागिता सुनिश्चितताका लागि आफनो उम्मेदवारी रहने घोषणा गरिसकेकी छिन ।
आदिवासी जनजाती महिला तर्फबाट नै दमककी लक्ष्मी सुब्बाले पनि आफूलाई महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा उभ्याएकी छिन । नारी एकता न्यायिक मञ्चमा रहेर लामो समय महिला अधिकारका क्षेत्रमा आफूलाई स्थापित गराएकी उनले आफनो अनुभवलाई पार्टीमा खर्चिएर समाजका लागि योगदान दिन चाहेको बताइन ।
खस आर्य महिला तर्फको कोटाबाट नेपाल महिला संघ दमक नगर सभापति मन्धरा चिमरिया पौडेलले पनि महाधिवेशन प्रतिनिधिमा आफनो उम्मेदवारी सार्वजनिक गरेकी छिन । राजनीतिसंगै राष्ट्रिय महिला अधिकार मञ्च, जनचेतना महिला संघ, अनाथ आश्रम दमक लगायतका विभिन्न सामाजिक तथा अधिकारवादी संस्थामा आफूलाई सक्रिय बनाइराखेकी पौडेलले नेता, कार्यकर्ता र शुभेच्छुकहरुसंगको परामर्शमा नै आफू उम्मेदवारका रुपमा अघि सरेको बताएकी छिन ।
दमकमा नै सक्रिय अर्की महिला नेतृ चन्द्रा खडका भट्टराई पनि खस आर्य महिला तर्फको कोटामा महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा उत्रिएकी छिन । महिला संघको क्षेत्रीय सभापति र पार्टीको महाधिवेशन प्रतिनिधि भइसकेकी खडका सहकारी क्षेत्रमा समेत स्थापित छिन । गौरादहका महिला नेतृहरु महाधिवेशन प्रतिनिधिका रुपमा यसपटकको क्षेत्रीय अधिवेशनमा आफूलाई दर्ज गराउन सक्रिय छन । गौरादहकी बासिन्दा लक्ष्मी बारकोटी प्रसाइँ पनि यो निर्वाचनमा खुल्ला महिला खुल्ला पदमा महाधिवेशन प्रतिनिधिकी उम्मेदवार छिन । व्यवसायिक तथा सामाजिक क्षेत्रमा स समेत रहेकी उनी यस अघि पनि महाधिवेशन प्रतिनिधि भइसकेकी नेतृ हुन ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १ : ०७ बजे