१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

दमक नगर कांग्रेसद्वारा पार्टी परित्याग गर्ने नेतामाथि कारबाही, कार्यकर्तालाई सचेत रहन आग्रह



दमक १४, माघ / सुशासन सहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानमा नेपाली कांग्रेस दृढ संकल्पित रहेको भन्दै दमक नगर कार्यसमितिले पार्टी हितविपरीत गतिविधि गर्नेहरूप्रति कडा कारबाही गर्ने स्पष्ट सन्देश दिएको छ।

नेपाली कांग्रेस दमक नगर कार्यसमितिले आज जारी गरेको प्रेस विज्ञप्तीमा पार्टीको दोस्रो विशेष महाधिवेशनबाट पारित “बलियो कांग्रेस, बदल्छौं देश” भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाएको छ।

विज्ञप्तीअनुसार मिति २०८२ माघ ६ गते नेपाली कांग्रेस दमक नगर समितिका तत्कालीन सभापति प्रकाश प्रसाईंले पार्टी परित्याग गरी अर्को दलमा प्रवेश गरेपछि पार्टीको विधान र निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो। नेपाली कांग्रेस वडा, नगर, प्रदेश (ख) तथा प्रतिनिधिसभा क्षेत्रीय समिति क्षेत्र नं. ५ झापाको संयुक्त बैठकबाट प्रसाईंलाई सोही मितिदेखि पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको विज्ञप्तीमा उल्लेख छ।

लोकतान्त्रिक पार्टीको जीवनमा प्रवेश र बहिर्गमन स्वाभाविक प्रक्रिया भए पनि पार्टी हितविरुद्धका गतिविधिप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै विज्ञप्तीमा वडा तहदेखि क्षेत्रभरिका कार्यकर्तालाई भ्रामक, कपोलकल्पित तथा प्रतिगमनकारी गतिविधिबाट सजग रहन आग्रह गरिएको छ।

यसैगरी, दमक नगर कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार श्री मन्धरा चिमरिया पौडेललाई चुनाव चिन्ह “रुख” मा मतदान गराउन दृढतापूर्वक लाग्न सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक र आम मतदातालाई अनुरोध गरेको छ।

विज्ञप्तीमा वडा नं. ६ का वडा सभापति मणिकुमार बढाथोकी, कार्यवाहक नगर सभापति प्रेम भट्टराई, प्रदेश (ख) सभापति रवि केसी न्यौपाने तथा प्रतिनिधिसभा क्षेत्र नं. ५ झापाका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको हस्ताक्षर रहेको छ।

अन्त्यमा नेपाली कांग्रेसले “बदलियौं कांग्रेस, बदल्छौं देश” भन्ने नारालाई आत्मसात गर्दै लोकतन्त्र, राष्ट्रियता र समाजवादको रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बुधबार  ९ : ३८ बजे