
विर्तामोड ३०, पुस / राजवंशी समाज विकास केन्द्रिय समितिको आयोजनामा ९ औं राष्ट्रिय भाक्का दिवस भव्य तथा उल्लासमय रूपमा सम्पन्न भएको छ । मंगलवार झापा जिल्लाको विर्तामोड नगरपालिका स्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजित भाक्का दिवस कार्यक्रममा हजारौंको संख्यामा राजवंशी समुदायका साथै विभिन्न जातजाति, भाषा र संस्कृतिका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राजवंशी समाज विकास समितिका संस्थापक अध्यक्ष फुलसिंह राजवंशी रहेका थिए । प्रमुख अतिथि राजवंशीले भाक्कालाई राजवंशी समुदायको परम्परागत परिकार मात्र नभई पहिचान, इतिहास र सांस्कृतिक गौरवको प्रतीक भएको बताए । उनले भाक्काको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि राज्यस्तरबाट समेत विशेष पहल आवश्यक रहेको उल्लेख गर्दै यस्ता मौलिक संस्कृतिहरू जोगाउन समुदाय आफैं सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रम राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीको सभापतित्वमा सम्पन्न भएको थियो । सभापतित्व मन्तव्यका क्रममा अध्यक्ष राजवंशीले पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा निरन्तर मनाइँदै आएको स्मरण गराउँदै भाक्कालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता सांस्कृतिक कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताए । उनले राजवंशी भाषा, संस्कार र परम्परालाई जोगाउने अभियानमा संस्थाले निरन्तर काम गरिरहेको जानकारी दिए ।
भाक्का दिवसको अवसरमा कार्यक्रममा सहभागी सम्पूर्ण दर्शक तथा अतिथिहरूलाई निशुल्क रूपमा परम्परागत भाक्का वितरण गरिएको थियो । माटोको भाडामा पकाइने, बाफमा सिझाइने भाक्काले कार्यक्रमस्थललाई विशेष सांस्कृतिक माहोलमा परिणत गरेको थियो । भाक्काको स्वाद र सुगन्धले सहभागीहरूलाई राजवंशी संस्कृतिसँग नजिकबाट अनुभूति गराएको थियो ।
कार्यक्रममा राजवंशी समुदायका विभिन्न लोकनृत्य, परम्परागत तथा आधुनिक नृत्य, सांस्कृतिक गीतहरूको प्रस्तुति गरिएको थियो । परम्परागत पहिरनमा सजिएका कलाकारहरूको नृत्य तथा गीतले दर्शकहरूलाई आकर्षित गरेको थियो । युवा पुस्ताको सक्रिय सहभागिताले सांस्कृतिक निरन्तरताको सशक्त सन्देश दिएको थियो ।

कार्यक्रममा विभिन्न सामाजिक अगुवा, बुद्धिजीवी, कलाकार, पत्रकार, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले राष्ट्रिय भाक्का दिवसले बहुसांस्कृतिक नेपालको पहिचान उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे ।
प्रत्येक वर्ष पुस २९ गते राष्ट्रिय भाक्का दिवस मनाइँदै आएको छ । यस दिवसको उद्देश्य राजवंशी समुदायको मौलिक परिकार भाक्काको संरक्षण, प्रचार–प्रसार र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको आयोजक समितिले जनाएको छ ।
आदेशप्रति आक्रोश र भत्सर्ना
कार्यक्रमका क्रममा केन्द्रिय अध्यक्ष अभय राजवंशीले कार्यक्रम नगर्न दिएको आदेशप्रति झापाका प्रमुख जिल्ला अधिकारी तथा केही स्थानीय जनप्रतिनिधिप्रति कडा आक्रोश व्यक्त गरे । उनले संविधानले दिएको सांस्कृतिक अधिकार कुण्ठित गर्ने कुनै पनि आदेश स्वीकार्य नहुने स्पष्ट पारे । भाक्का दिवस शान्तिपूर्ण, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको कार्यक्रम हुँदाहुँदै पनि अवरोध सिर्जना गर्ने प्रयासप्रति उनले गम्भीर आपत्ति जनाए । यस्तो व्यवहार लोकतान्त्रिक मूल्य, आदिवासी जनजातिको अधिकार र सांस्कृतिक स्वतन्त्रताविरुद्ध भएको भन्दै सम्बन्धित निकायको खुलेर भत्सर्ना गरे । उनले आगामी दिनमा यस्ता हस्तक्षेप सहन नसकिने चेतावनीसमेत दिए ।








