१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लाल किल्ला तोड्ने नेताहरु काङ्ग्रेस महासमिति चुनावको सामना गर्दै



नेपाली कांग्रेसको नीति निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने पार्टी महासमितिको निर्वाचन झापामा यही कार्तिक २३ गते हुँदैछ । २२ कार्तिकमा मनोनयन दर्ता गर्ने र निर्विरोध हुन नसकेका स्थानमा २३ कार्तिकमा निर्वाचन (मतदान) गर्ने गरि तयारी भइरहेको छ ।

महाधिवेशनपछि झापामा हुन लागेको महासमितिको यो निर्वाचनलाई महत्वपूर्ण र कांग्रेसलाई नीतिगत रुपमानै सहि ट्रयाकमा हिंडाउन निर्देश गर्ने अवसरका रुपमा पनि लिइएको छ । झापाको निर्वाचन क्षेत्र नं ५ यसैपनि प्रमुख प्रतिस्पर्धी दल एमालेसँग प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन जित्न सधैं फलामको चिउरा सावित हुँदै आएको क्षेत्र हो ।

तर, यो क्षेत्र अन्तर्गतका पालिकाहरुमा भने कम्युनिष्ट गढलाई भत्काउँदै लाल किल्ला तोडेर पालिका नेतृत्वमा कांग्रेसको झण्डा फहराउने नेतृत्व पनि यो चुनावमा होमिँदैछन । २०७९ को स्थानीय तह निर्वाचनमा यो क्षेत्रका तीन पालिकामा कांग्रेस नेतृत्व स्थापित भएको छ । यसलाई राजनीतिक वृत्तमा कांग्रेसका लागि ठुलो उपलब्धी र एमालेका लागि गतिलो झापडका रुपमा पनि लिइएको छ ।

यो क्षेत्र अन्तर्गत दमक, कमल र गौरीगञ्जमा कांग्रेसलाई नेतृत्व दिलाउन पार्टी नेता, कार्यकर्ताहरुको भुमिका, उम्मेदवारको सक्षमता र साहसको मुल्याङकन गर्ने अवसर पनि हो महासमितिको यो निर्वाचन । पार्टीका क्षेत्रीय प्रतिनिधिका रुपमा चुनिएका नेताहरु मतदाताका रुपमा रहने यो निर्वाचनमा यसअघि १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित नेताहरुले उम्मेदवारी दिन पाउने व्यवस्था छ । यि हुन लाल किल्ला तोडने जनप्रतिनिधिहरु यो क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका पर्छन ।

२०७४ को निर्वाचनमा यि चार मध्ये गौरादहमा मात्रै कांग्रेसले प्रमुख पद जितेको थियो । २०७९ मा आउँदा गौरादहको नेतृत्व कांग्रेसले गुमाएपनि अन्य दुई पालिकाको प्रमुख अर्थात अध्यक्ष र एक पालिकाको उपप्रमुखमा कांग्रेसले जित निकालेको छ । दमकमा नगरपालिकाको उपप्रमुख पदमा दोश्रो पटकको कडा प्रयत्नबाट निर्वाचित रेगिना भट्टराई (प्रसाइँ) , कमल गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुकुमसिंह राई र गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी तीनै जना कांग्रेस महासमिति सदस्यको चुनावी प्रतिस्पर्धामा छन ।

नेतृ भट्टराई महिला कोटाबाट महासमिति सदस्य चुनिने प्रतिस्पर्धामा छिन । उनले कांग्रेसको सृदृढ र एकताबद्ध संगठन निर्माणमा नीतिगत पहलका लागि आफनो दाबेदारी रहेको बताउँदै आएकी छिन । खुल्ला तर्फबाट महासमिति सदस्यको प्रतिस्पर्धामा उत्रिएका युवा नेता राई जनतासँग पार्टी जोडिन नसक्दा कांग्रेस कमजोर हुने भएकाले पार्टीले जनताका मुद्धाहरुलाई सम्बोधन गर्ने नीति अघि सार्नुपर्ने र नीति निर्माणको अंग महासमितिमा जनप्रतिनिधिको उपस्थिती अर्थपूर्ण हुने बताउँदै आएका छन ।

पछिल्लो समय नेपाली राजनीतिमा युवापुस्ताको घटदो आकर्षणको दुरगामी प्रभाव परिरहेकोले नेतृत्वलाई सही बाटोमा हिंडाउन युवा पुस्तालाई कांग्रेसप्रति आकर्षित गर्नुपर्ने आफनो मान्यता रहेको उनको भनाई छ । राई १४ औं महाधिवेशनको प्रतिनिधि चुनिँदै गर्दा यस क्षेत्रकै सर्वाधिक (४५२ मत) ल्याएर निर्वाचित हुँदै चर्चामा आएका नेता हुन । त्यस्तै नेतृ राजवंशी आदिवासी जनजाती महिला कोटाबाट प्रतिस्पर्धामा उत्रिएकी छिन । उनले आफनो उम्मेदवारी पार्टी, संगठनको हितकै लागि भएको भन्दै महासमिति नीति निर्माणका लागि पनि महत्वपूर्ण अंग भएका कारण यसमा आदिवासी महिला समुदायबाट आफूले प्रतिनिधित्व गर्न चाहेको प्रतिक्रिया दिएकी छिन ।

२०७४ मा गौरादहको नगर प्रमुख पद जितेका रोहितकुमार साह पार्टी महासमितिको निर्वाचनमा खुल्ला तर्फका पाँच मध्येका एक उम्मेदवार हुन भने उनीसँगै गौरादह २ को वडाध्यक्ष जितेका हेमन्त कार्की पनि महासमिति सदस्यको निर्वाचनमा उत्रिएका छन । साह र कार्की दुवै अहिले महासमिति निर्वाचनको सामना गरिरहेका छन । कांग्रेसको साख बढाउन यो क्षेत्रमा आफूहरुले निर्वाह गरेको भुमिकाको मुल्याङकनका लागि चुनावी प्रतिस्पर्धामा उत्रिनु परेको उनीहरुको तर्क छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा एमालेसंग खरो प्रतिस्पर्धा गरेर कांग्रेसलाई पालिकास्तरमा भएपनि स्थापित गराउन सफल यि उम्मेदवारहरु यो महासमितिको निर्वाचनमा पनि विशेष महत्व र चर्चाका पात्रका रुपमा हेरिएका छन । झापा जिल्लाका पाँच ओटै निर्वाचन क्षेत्रमा हुने यो निर्वाचनका लागि कांग्रेस भित्रका प्राय स्थापित नेतृत्वहरुनै चुनावी मैदानमा छन ।

कतिपय नयाँ अनुहारहरुले यो चुनावमा उम्मेदवारी दिएर आफना क्षमताको जाँच गर्ने अवसरका रुपमा उपयोग गर्दैछन भने पटक पटक महाधिवेशन र महासमितिमा चुनिएर पनि राजनीतिक रुपमा फडको मार्न नसकेका नेताहरु पनि यसमा निरन्तरताका लागि लागिपरेको देखिन्छ । कसैले यसलाई पार्टी भित्र आफनो प्रभाव र वर्चस्वलाई कायम राख्ने अवसरका रुपमा पनि लिँदैछन ।

२०७९ को निर्वाचनपछि एमालेले पनि देशैभर आफनो आन्तरिक अधिवेशन र सम्मेलन गरिसकेको छ । विशेष गरी झापा जिल्लामा स्थानीय तह निर्वाचन जितेका पालिका प्रमुख, उपप्रमुखहरु एमालेको आन्तरिक अधिवेशन तथा सम्मेलनहरुमा भाग लिएपनि चुनावी प्रतिस्पर्धा बिनै सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ४० बजे