
गौरीगंज २२, भदौ / झापाको गौरीगंज गाउँपालिका–३ मा आज साँझ ग्यास सिलिन्डर लिक भएर आगलागी भएको छ । स्थानीय दुर्लभ श्रेष्ठको घरको भान्साघरमा साँझ करिब ६ः३५ बजेको समयमा ग्यास लिक भएपछि आगो लागेको हो । घरधनीले तत्काल सर्तकता अपनाउँदै सिलिन्डरको पाइप काटेर सिलिन्डरलाई आँगनमा निकालिदिएका थिए । तर, आगो नियन्त्रणमा आउन नसकेपछि स्थानीयवासीहरूले पानी हालेर निभाउने प्रयास गरेका थिए ।
घटना बारे जानकारी पाएलगत्तै गौरीगंज इलाका प्रहरी कार्यालयबाट ८–९ जना प्रहरीको टोली खटिएको थियो । टोलीले फायर ग्यास प्रयोग गरी करिब ६ः५० बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ ।
समयमा आगो नियन्त्रणमा आउन सकेकाले जनधनको ठूलो क्षति हुन पाएन । यस घटनामा कुनै मानवीय क्षति नभएको र स्थानीयवासी तथा सुरक्षाकर्मीको प्रयासले ठूलो दुर्घटना टार्न सफल भएको प्रहरीले जनाएको छ ।