
दमक १८, भदौ / जे एफ सेक्युरिटीज प्रा। लि। ले नेपाल धितोपत्र बोर्ड अन्तर्गतको निक्षेप सदस्यता (Depository Participant–DP) प्राप्त गरेको छ । निक्षेप सदस्यता प्राप्तसँगै कम्पनीले अब आफ्ना ग्राहकलाई डीमैट खाता, मेरो शेयर खाता र ट्रेडिङ खाता (TMS) एकै स्थानबाट सहजै सञ्चालन गर्ने सुविधा प्रदान गर्ने भएको छ ।
निक्षेप सदस्यता प्राप्त भएपछि लगानीकर्ताले धितोपत्र कारोबारका लागि छुट्टाछुट्टै संस्थामा धाउनुपर्ने बाध्यता अन्त्य हुने कम्पनीका दमक शाखा प्रमुख भरत न्यौपानेले बताए । । अहिले सम्म डीमैट खाता खोल्न, मेरो शेयर प्रयोग गर्न र अनलाइन ट्रेडिङ प्रणालीमा खाता खोल्न लगानीकर्ताले विभिन्न निकायमा सम्पर्क गर्नुपर्ने अवस्था रहँदै आएको थियो । तर, जे एफ सेक्युरिटीजमार्फत यी सबै सेवा एउटै ढोकाबाट उपलब्ध हुने भएकाले लगानीकर्ताका लागि समय, खर्च र श्रमको बचत हुने विश्वास गरिएको छ ।
कम्पनीका अनुसार, डीमैट खाता खोलिसकेपछि ग्राहकले मेरो शेयर प्रणालीमा सजिलै पहुँच पाउनेछन् । सोही खाता प्रयोग गरी अनलाइन ट्रेडिङ सिस्टम (TMS) मा समेत व्यापार गर्न सकिने सुविधा उपलब्ध हुनेछ । यसरी एकीकृत प्रणालीमार्फत सेवा प्रदान गर्दा शेयर कारोबारमा चासो राख्ने नयाँ तथा पुराना दुवै लगानीकर्ताले सहज अनुभव गर्ने कम्पनीको दाबी छ ।
यसबाहेक, जे एफ सेक्युरिटीजले बीओ–टु–बीओ (BO to BO) ट्रान्सफर गर्दा समेत कुनै शुल्क नलाग्ने जनाएको छ । यसले लगानीकर्तालाई थप सहजता दिने र पूँजी बजारमा कारोबारको लागत घटाउने कम्पनीको विश्वास छ । हाल धेरैजसो निक्षेप सदस्यहरूले बीओ–टु–बीओ सेवामा शुल्क लिने गरेका भए पनि जे एफ सेक्युरिटीजले यस्तो शुल्क हटाएर ग्राहकमैत्री नीति अख्तियार गरेको हो ।
जे एफ सेक्युरिटीजले आधुनिक सूचना प्रविधि र दक्ष जनशक्तिको प्रयोग गर्दै लगानीकर्तालाई छिटो, भरपर्दो र सुरक्षित सेवा दिने लक्ष्य लिएको छ । कम्पनीले ग्राहकमैत्री सेवा विस्तार गर्दै पूँजी बजारमा विश्वसनीय साझेदार बन्ने प्रतिवद्धता जनाएको छ ।
धितोपत्र बजारमा बढ्दो प्रतिस्पर्धा र लगानीकर्ताको चापलाई मध्यनजर गर्दै कम्पनीले निक्षेप सदस्यता प्राप्त गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताइएको छ । यसले नेपालकै पूँजी बजारमा प्रविधि–मैत्री र एकीकृत सेवा प्रणालीलाई थप सबल बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।