
झापा १८, भदौ / नेपालको न्याय क्षेत्रमा ऐतिहासिक उपलब्धि जोडिएको छ । सीमान्तकृत र लोपोन्मुख सन्थाल समुदायका विश्वदिप बेश्रा पहिलोपटक न्यायाधीशमा नियुक्त भएका छन् । न्याय परिषद्को निर्णयअनुसार मंगलबार जिल्ला अदालतका लागि गरिएको न्यायाधीश नियुक्तिमा बेश्राले स्थान पाएका हुन् ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषद्को बैठकले न्याय समूहबाट चार जना, कानुन समूह र सरकारी वकिल समूहबाट एक–एक गरी कुल छ जना न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो । सोही क्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा उपसचिवको जिम्मेवारी सम्हाल्दै आएका बेश्रा पनि न्यायाधीशका रुपमा नियुक्त भएका हुन् ।
लोपोन्मुख र सीमान्तकृत सन्थाल समुदायबाट पहिलो न्यायाधीश बनेका बेश्राको यो नियुक्ति समुदायकै लागि मात्र नभई नेपालको समावेशी न्याय प्रणालीको दृष्टिले समेत महत्वपूर्ण मानिएको छ । समुदायका अगुवाहरूले यसलाई ऐतिहासिक सफलता बताउँदै अब न्याय क्षेत्रमा सीमान्तकृत समुदायको आवाज थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।
यसअघि दुई वर्षअघि सीमान्तकृत राजवंशी समुदायबाट पूर्णप्रसाद राजवंशी पहिलोपटक न्यायाधीश नियुक्त भएका थिए । त्यसपछि पुनः अर्को सीमान्तकृत समुदायका प्रतिनिधि न्यायपालिकामा प्रवेश गर्नुले नेपालका विविध जाति समुदायलाई न्याय प्रणालीमा सहभागी गराउने सकारात्मक अभ्यासलाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ ।
न्याय परिषद्को यस निर्णयले बहुविविधता र समानुपातिकताको अभ्यासलाई सशक्त बनाएको देखिएको छ । साथै, सन्थाल समुदायका लागि यो उपलब्धिले आगामी पुस्तालाई राज्यका उच्च तहमा सहभागी हुन प्रेरणा दिने अपेक्षा गरिएको छ ।