
गौरीगंज २९, असार / साहित्य चौतारी गौरीगंजको आयोजनामा २१२ औं भानु जयन्तीको अवसरमा आज आइतवार विशेष कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा स्थित त्रिभुवन आदर्श पुस्तकालयमा आयोजित उक्त कार्यक्रममा स्थानीय राजनीतिक, शैक्षिक तथा साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले साहित्य र संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै पालिकाले पुस्तकालयको समग्र विकासमा निरन्तर साथ दिने प्रतिबद्धता जनाइन्। उपाध्यक्ष पुजन न्यौपाने कुँवर, वडा नं. ३ का वडाअध्यक्ष श्रवण गिरी, गौरीगंज माविका प्रधानाध्यापक गोविन्द घिमिरे, ज्ञानोदय माविकी प्रिन्सिपल कल्पना थापा र साहित्यकार तथा सर्जक दिपक सुवेदी, श्याम न्यौपानेलगायतको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमका दौरान विभिन्न साहित्यकारहरूले भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै कविता वाचन गरेका थिए। भानु जयन्तीको सन्दर्भमा राष्ट्रिय काव्य परम्परा र नेपाली भाषाको विकासमा उनको योगदान अझै प्रेरणादायी रहेको वक्ताहरूले उल्लेख गरे।
कार्यक्रममा वडाध्यक्ष श्रवण गिरीले त्रिभुवन आदर्श पुस्तकालयका लागि कुर्सी, माइकसहित आवश्यक भौतिक सामग्रीको व्यवस्थापन गर्ने घोषणा गरे। साथै, साहित्यकार दिपक सुवेदीले पुस्तकालयमा पुस्तकहरूको व्यवस्थापन तथा समृद्ध बनाउने अभियानमा आफू सक्रिय हुने प्रतिवद्धता व्यक्त गरे।

सोही अवसरमा पुस्तकालयकी कर्मचारी सरिता घिमिरेलाई दोसल्ला ओढाइ प्रमाणपत्रसहित सम्मान गरिएको थियो। घिमिरेले लामो समयदेखि पुस्तकालय व्यवस्थापनमा पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरिएको संयोजक उद्धव गौतमले जानकारी दिए।
कार्यक्रम साहित्य चौतारीका अध्यक्ष उद्धव गौतमको सभापतित्वमा सम्पन्न भएको थियो। साहित्यिक चेतना अभिवृद्धि गर्दै समाजलाई सकारात्मक दिशा दिन यस्ता गतिविधिहरू निरन्तर आयोजना गरिने आयोजक संस्थाले जनाएको छ।