१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025

गौरीगंजमा २६ जना महिलालाई ५२ दिने आदिवासी पोशाक बुन्ने तालिम




गौरीगंज १३, असार / महिलाको सशक्तीकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्न ५२ दिने सिपमूलक तालिम सम्पन्न भएको छ। गौरीगंज गाउँपालिका वडा नं. ४ स्थित वडा कार्यालयमा सम्पन्न ‘आदिवासी पोशाक बुन्ने तालिममा २६ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।

गौरीगंज गाउँपालिकाको आर्थिक सहयोग तथा युवा केन्द्र नेपालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको सो तालिमको लागत ९ लाख रुपैयाँ बराबर रहेको हो। तालिम समापन समारोह वडा नं. ४ की सदस्य रेखा कुमारी राजवंशीको अध्यक्षतामा सम्पन्न भयो।
समापन समारोहमा बोल्दै उपाध्यक्ष पूजन न्यौपाने कुँवरले महिलाहरूले सिकेको सीपलाई व्यवसायका रूपमा विकास गर्न पालिकाले आवश्यक सहयोग गर्ने बताइन्। उनले भनिन्, – ‘महिलालाई सीप सिकाएर मात्र होइन, त्यसलाई आम्दानीको स्रोत बनाउन पालिकाले बजार व्यवस्थापन र उपकरण सहयोगमा साथ दिनेछ।’

यो तालिमले आदिवासी समुदायका महिलाहरूलाई परम्परागत सीपलाई आधुनिक व्यापारसँग जोड्ने अवसर दिएको उपाध्यक्ष पूजन न्यौपाने कुँवरको भनाइ छ। अब सहभागी महिलाहरूले सामूहिक रूपमा उत्पादन सुरु गर्दै बजारमा प्रवेश गर्ने तयारी गरिरहेका छन्।

तालिममा प्रशिक्षक मिना विश्वकर्माले सहभागी महिलाहरूलाई पेटानी, गाम्छा, रुमाल लगायत आदिवासी पोशाक बनाउने सीप सिकाइन्। उनले महिलाहरूको आत्मविश्वास र सीपमा देखिएको परिवर्तनलाई उल्लेख गर्दै अब उनीहरू साना तिना उत्पादन व्यवसाय गर्न सक्षम भएको बताइन्।

कार्यक्रममा युवा केन्द्र नेपालका अध्यक्ष दिपक पोखरेलले तालिममा सिकाइएका सीपलाई व्यवसायीकरण गर्ने दिशामा सहजीकरण गर्ने प्रतिबद्धता जनाए। महिला सशक्तिकरण गौरीगंजकी अध्यक्ष नौताली राजवंशीले आदिवासी महिलाहरूलाई परम्परागत सीपमा आधारित व्यवसायमा जोडेर आर्थिक सबलीकरण गर्न तालिम महत्त्वपूर्ण भएको बताइन्।

तालिमबाट उत्पन्न आत्मविश्वास, सीप र सामुदायिक संलग्नताले गाउँस्तरमै रोजगारी र सशक्तिकरणको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : ३४ बजे