
विर्तामोड १०, असार / पछिल्लो समय पुनः सक्रिय बनेको कोरोना संक्रमणका कारण इलामकी एक महिलाको ज्यान गएको छ। देशमा पछिल्लो चरणमा फैलिएको संक्रमणपछि कोरोना संक्रमणबाट मृत्यु हुने यो पहिलो घटना हो।
सूर्योदय नगरपालिका–१० फिक्कल निवासी ४९ वर्षीया सुनिता लामाको आज बिहान ६ बजे विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्राथमिक रूपमा ज्वरो आउने, कमजोरी र स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई फिक्कलकै स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। तर सुधार नआएपछि दुई दिनअघि झापा बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा लगिएको थियो। त्यहाँ स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो।
नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको मृत्यु भएको हो। अस्पतालले मृतकको शव स्वास्थ्य मापदण्डअनुसार र्यापिङ गरी आफन्तलाई जिम्मा लगाएको छ। शव व्यवस्थापनबारे जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय भइरहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार झापामा ३ जना कोरोना संक्रमित फेला परेको छ ।

सरकारले पछिल्लो समय संक्रमण दरमा गिरावट देखिएको भन्दै सतर्कता कम गरे पनि इलाममा देखिएको यो घटनाले कोरोना संक्रमण पुनः गम्भीर बन्न सक्ने संकेत दिएको स्थानीय चिकित्सकहरूको भनाइ छ। स्वास्थ्य विशेषज्ञहरूले उच्च जोखिम समूह, बिरामी, र पुराना रोगीहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।