
गौरीगंज गाउँपालिकाद्वारा छात्रवृत्तिका लाभार्थीसँग अन्तरसंवाद
गौरीगंज २६, जेठ / आर्थिक रूपमा कमजोर तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई उच्च र प्राविधिक शिक्षातर्फ अभिप्रेरित गर्न गौरीगंज गाउँपालिकाले प्रदान गर्दै आएको छात्रवृत्तिको प्रभाव र उपलब्धिमाथि मूल्यांकन गर्न आइतबार अन्तरसंवाद कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम गाउँपालिकाले छात्रवृत्ति पाएका विद्यार्थीहरू र तिनका अभिभावकहरूसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले आयोजना गरेको थियो ।
गाउँपालिकाले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रति वर्ष २५ हजार रुपैयाँ र सामान्य उच्च शिक्षा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई प्रति वर्ष १५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ। चालु आर्थिक वर्षमा यो कार्यक्रमका लागि ७ लाख रुपैयाँ बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ। छात्रवृत्ति वितरणको प्रक्रिया विगत तीन वर्षदेखि निरन्तर जारी छ ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख टंक खरेलले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको विवरण सार्वजनिक गरे । उनका अनुसार गत आर्थिक वर्षमा १३ जना क्रमागत विद्यार्थीले छात्रवृत्ति पाएका थिए भने चालु वर्षमा थप ११ जना नयाँ विद्यार्थीले छात्रवृत्तिका लागि छनोट भएका छन्। सामान्य विषयतर्फ गत वर्षकै ६ जना र चालु वर्षमा १७ जना गरी २३ जनालाई छात्रवृत्ति वितरण गरिएको छ । प्रारम्भिक वर्षमा १३ जनाले यो सुविधा पाएका थिए।
गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले छात्रवृत्ति कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै भनिन्, “हामी निर्वाचित भएदेखि नै सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएका छौँ। छात्रवृत्तिले यो प्रयासलाई अझ मजबुत बनाएको छ।” अध्यक्ष राजवंशीले शिक्षा नै समृद्धिको आधार भएकोले पालिकाको प्राथमिकता नै शिक्षा क्षेत्रमा लगानी रहेको स्पष्ट पारिन् ।
उपाध्यक्ष पुजन न्यौपाने कुँवरले छात्रवृत्तिले विद्यार्थीहरूको भविष्य निर्माणमा ठूलो टेवा पु¥याइरहेको बताइन्। “यो कार्यक्रमले ग्रामीण भेगका विद्यार्थीलाई मनोबल दिएको छ,” उनले भनिन्, “अब हामी विद्यार्थीका सुझाव समेटेर कार्यक्रमलाई अझ प्रभावकारी बनाउनेछौँ ।”

प्रमुख प्रशासकीय अधिकृत खेम थापाले छात्रवृत्तिको वितरण प्रक्रिया पूर्ण पारदर्शी रहेको दाबी गरे। “विद्यार्थीकै व्यक्तिगत बैंक खातामा रकम जम्मा हुने व्यवस्था गरिएकोले कुनै पनि अपारदर्शिता छैन,” उनले भने ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूमध्ये प्राविधिक शिक्षा अन्तर्गत नर्सिङ्ग विषय अध्ययन गरिरहेकी अन्चिता राजवंशी ले गाउँपालिकाको छात्रवृत्तिका कारण अध्ययनमा निरन्तरता दिन सहज भएको बताइन्। “पढाइको खर्च जुटाउन समस्या थियो, गाउँपालिकाको सहयोगले पढाइ नरोकिने भयो,” उनले भनिन्।
यस्तै, विद्यार्थी अभिभावक रन्जु वस्नेतले गाउँपालिकाले गरिब र विपन्न परिवारलाई ध्यान दिई शिक्षा पहुँचमा ल्याउन थालेकोमा खुशी व्यक्त गरे। “छोराछोरी पढाउने चाहना त सबैको हुन्छ, तर खर्च नै ठुलो चुनौती हो,” उनले भने, “यस्तो सहयोगले हामी जस्ता आम अभिभावकलाई ठूलो राहत मिलेको छ।”
कार्यक्रममा गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाला राजवंशी, वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, कार्यपालिका सदस्य रमकुमारी विकलगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीलाई चेकको डमी हस्तान्तरण गरिएको थियो ।