२६ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025

सशस्त्र प्रहरी सई राजवंशीको मोटरसाइकल दुर्घटनामा मृत्यु



गौरीगंज २५ , जेठ / झापाको कमल गाउँपालिकामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी नायव निरीक्षक ९सई० को मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्गमा सानो केर्खास्थित कमल गाउँपालिका–३ मा भएको दुर्घटनामा मोरङ कानेपोखरी गाउँपालिका–४ का ४८ वर्षीय पुरनलाल राजवंशीको ज्यान गएको हो।

राजवंशी हाल इलाम जिल्लाको सशस्त्र प्रहरी सीमा सुरक्षा बल (बीओपी) समालबुङ पोस्टमा कार्यरत थिए। उनी घर बिदा सकेर व्यारेकतर्फ फर्किंदै गर्दा प्र। १–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटना हिजो साँझ ७ :५५ बजेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको थियो। तर राति ९ बजे अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

मृतकको शव हाल बीएण्डसी अस्पतालको शवगृहमा राखिएको छ। घटनापछि मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

राजवंशी सशस्त्र प्रहरी बलमा समर्पित र अनुशासित अधिकृतका रूपमा चिनिन्थे। उनको निधनले सुरक्षाकर्मी समुदायमा शोक छाएको छ। परिवार, सहकर्मी र स्थानिय बासिन्दाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

झापाको कमल क्षेत्रमा समय–समयमा यस्ता सडक दुर्घटनाहरू भइरहँदा ट्राफिक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि र पूर्वाधार सुधारको माग पनि स्थानीय तहबाट उठ्न थालेको छ। सवारी साधनको गति नियन्त्रण र सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकतालाई यो दुर्घटनाले पुनः उजागर गराएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  ८ : ०५ बजे