
१. झापा र मोरङ्ग जिल्लाका वासिन्दाको जिवनशैली फेरिएको छ ।
२. दुई जिल्लाको भौतिक एकताका लागि पनि एउटा सशक्त संरचना बनेको छ।
३. साना पसलदेखि ठूलो व्यापारसम्म मुनाफा बढेको छ।
४. शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा जस्ता सामाजिक पक्षहरूमा समेत उल्लेखनीय परिवर्तन ल्याएको छ।
५. रतुवा खोलाको पानी प्रवाह निगरानीका लागि अब आधुनिक प्रविधिको प्रयोग सुरु गरिएको छ। बाढीको जोखिमसम्बन्धी प्रारम्भिक सूचना संकलन तथा प्रसारण गरी बाढीको जोखिमबारे अग्रिम जानकारी दिने छ ।
आत्माराम राजवंशी
गौरीगंज ११, जेठ /
झापा र मोरङ्ग जिल्ला सिमाना छुट्याउने रतुवा खोलामाथि निर्माण गरिएको पुल सञ्चालनमा आएपछि यहाँको भौगोलिक दूरी मात्र होइन, जनजीवन, व्यापारिक गतिविधि, यातायात र सेवा प्रवाहमा समेत आमूल परिवर्तन आएको छ। हुलाकी सडक अन्तर्गत पर्ने रतुवा पुल सञ्चालनमा आउनुले विशेषगरी झापाको गौरीगंज र मोरङ्गको विराटनगर जोड्ने मुख्य मार्ग अझ सहज र छोटो बनेको छ।
यसअघि गौरीगंजबाट विराटनगर पुग्न झापाका नागरिकहरूलाई दमक हुँदै इटहरीको परिक्रमा गर्नुपर्थ्यो। झन्डै चार घण्टा समय लाग्ने यो यात्रा अहिले पुल सञ्चालनमा आएपछि दुई घण्टाभित्रै सम्पन्न हुन्छ। यसले न केवल समय बचत गरेको छ, स्थानीयको जीवनशैली र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको छ।
यातायात सेवा थप व्यवस्थित, नियमित बस सेवा सुरु
रतुवा पुल सञ्चालनमा आएपछि सार्वजनिक यातायात सेवा पनि थप व्यवस्थित र नियमित बन्न थालेको छ। हाल गौरीगंजदेखि विराटनगरसम्म दैनिक बिहान ५ः३० बजेदेखि बेलुका ५ः३० बजेसम्म नियमित बस सेवा सञ्चालनमा रहेको छ। आधा(आधा घण्टाको अन्तरालमा दुवै दिशातर्फ १६ वटा बसहरू नियमित रूपमा गुडिरहेका छन्।

यात्रुहरूले अब कुनै झन्झट वा लामो बाटो समात्नुपर्ने छैन। स्थानीय किसान, व्यापारी, मजदुर, विद्यार्थी तथा सेवा प्रयोगकर्ताका लागि यो बस सेवा वरदान सावित भएको छ।
व्यापार–व्यवसायमा आएको चमक
यात्रा छोटिँदा गौरीगंजलगायतका झापाका स्थानीय बजारहरूमा व्यापारिक गतिविधि तीव्र भएका छन्। विराटनगर बजारसँग सिधा पहुँच बनेपछि स्थानीय उत्पादनको माग बढेको छ भने विराटनगरका थोक बजारका सामान सस्तो मूल्यमा झापा आइपुग्न थालेका छन्।
व्यवसायीहरूका अनुसार अब सामान ढुवानी लागत घटेको छ, समय पनि कम लागेको छ। फलस्वरूप साना पसलदेखि ठूलो व्यापारसम्म मुनाफा बढेको छ। यही कारण अहिले गौरीगंजमा नयाँ व्यापारिक संरचनाहरू – जस्तै किराना पसल, होटल, लज लगायत वृद्धि हुन थालेका छन्।
सामाजिक सेवामा सहजता
पुल सञ्चालनले शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा जस्ता सामाजिक पक्षहरूमा समेत उल्लेखनीय परिवर्तन ल्याएको छ। पहिले सरकारी सेवा लिन वा अस्पताल जान विराटनगर पुग्न झापा क्षेत्रका नागरिकले पूरै दिन खर्चनुपर्थ्यो। अहिले भने दुई घण्टामै फर्किने गरी सेवाको उपयोग गर्न सकिन्छ।
विराटनगरमा अध्ययनरत विद्यार्थीहरूका लागि पनि यो पुल ठूलो राहत बनेको छ। स्थानीय विद्यार्थी नेता रोशन यादव भन्छन्, “अहिले बिहानै घरबाट हिँडे पनि कलेजको पहिलो कक्षा छुट्दैन।”
पुल निर्माणको ऐतिहासिक पृष्ठभूमि
रतुवा खोलामा पुल निर्माणको चर्चा झन्डै १५ वर्षअघिदेखि हुँदै आएको हो। झापा–मोरङको यो सिमाना पूर्वी तराईको एउटा व्यस्त र घना बस्ती भएको क्षेत्र हो। खोलाले वर्षायाममा यातायात पूरै अवरुद्ध पार्ने गथ्र्यो। सुक्खा मौसममा अस्थायी बाँसको भाटाको पुलबाट मात्र आवागमन हुन्थ्यो, जुन जोखिमपूर्ण र असहज थियो। मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगंज जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल १६ वर्षदेखि अलपत्र थियो । मोरङ सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४/ ६५ मा कालिका ओसिए जेभीलाई निर्माण ठेक्का दिएको थियो । भ्याट सहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का पाएको निर्माण कम्पनीले ढुकुटीबाट पैसा लिए पनि पुल निर्माण पूरा गरेको थिएन ।

प्रदेश १ को राजधानी विराटनगरदेखि झापाको भद्रपुर जोड्ने हुलाकी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा रहे पनि रतुवा पुलका कारण सो राजमार्ग प्रयोगमा समस्या थियो ।

पछिल्लो समय स्थानीयको दीर्घ संघर्ष, पहल र सरकारी योजना पश्चात् अन्ततः रतुवा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो। यो पुल न केवल यातायातको लागि, तर दुई जिल्लाको भौतिक एकताका लागि पनि एउटा सशक्त संरचना बनेको छ।

पुल विस्तारको योजना, अब अझ मजबुत र दिगो बनाइँयो
हालै सरकारले रतुवा पुलको लम्बाइ थप गरी ठोस योजना बनाएको छ । मोरङ तर्फ ५० मिटर र झापा तर्फ २५ मिटर गरी कुल ७५ मिटरको पुल थप गरिएको छ ।
यो पुल विस्तारको काम २२ करोड १२ लाख ३७ हजार रुपैयाँको लागतमा ठेक्का सम्झौता भई अगाडि बढाइएको हो। निर्माण कम्पनीलाई २०८२ सालको असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य दिइएको छ। यससँगै अब रतुवा पुलको कुल लम्बाइ २८० मिटर पुग्नेछ, जसले अझै ठूलो सवारी साधनहरूको ओहोरदोहोरमा सहजता ल्याएको छ।
सुरक्षाका लागि तटबन्ध निर्माण
पुल सञ्चालनसँगै सुरक्षाको दृष्टिले पनि आवश्यक तयारी गरिएको छ। वर्षायाममा रतुवा खोलाको पानीले पुल र आसपासका क्षेत्रहरूमा क्षति पुर्याउने जोखिम रहँदै आएको छ। यही कारण पुलको दीर्घकालीन सुरक्षा र जलप्रवाह व्यवस्थापनका लागि तटबन्ध निर्माण गर्ने योजना अघि सारिएको हो।

यस अन्तर्गत झापातर्फ ६५० मिटर र मोरङतर्फ १४०० मिटर गरी कुल २ किलोमिटरभन्दा बढी क्षेत्रफलमा खोलाको किनार सम्हालिनेछ। यो कार्यले बाढीको जोखिम कम गर्नुका साथै पुल संरचना र वरपरको जनजीवन सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
रतुवामाई नगरपालिकाका स्थानीय समाजसेवी तथा युवा नेता नारयाण ताजपुरिया भन्छन्, “रतुवा पुल सञ्चालनले हामीलाई साँच्चिकै नयाँ युगमा पुर्याएको छ। अब विकासको गति तेज भएको महसुस भइरहेको छ।”
झापा उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष तथा व्यवसायी रुपक श्रेष्ठ भन्छन् – “पछिल्लो समय बसको माग बढेको छ। यात्रु बढेपछि बस व्यवसाय फस्टाउँदै गएको छ। अब हामी नियमित र सुरक्षित यात्राको भरपर्दो माध्यम बनिरहेका छौँ।”
पूर्वाधार विकासले खोल्यो समृद्धिको ढोका
रतुवा पुल केवल एउटा पुल नभएर झापा र मोरङका जनताको सपना, संघर्ष र सम्भावनाको प्रतिनिधि संरचना बनेको छ। यसले दुई जिल्ला मात्र होइन, दुई जीवनशैलीलाई जोडिदिएको छ। यात्राको समय घटाएर सेवामा पहुँच पुर्याउने, व्यापारिक ढोका खोल्ने, ग्रामीण क्षेत्रलाई सहरी बजारसँग जोड्ने यो पुलको निर्माणले अब समृद्धिको नयाँ ढोका खोलिदिएको छ। आगामी वर्षहरूमा पुल विस्तार र तटबन्ध निर्माण कार्य सम्पन्न भएपछि यहाँका नागरिकका लागि अझ सुरक्षित, सहज र सम्भावनायुक्त जीवन सुनिश्चित हुने अपेक्षा गरिएको छ।
रतुवा खोलाको पानी प्रवाह निगरानीका लागि अब आधुनिक प्रविधिको प्रयोग सुरु गरिएको छ। एशियाली विकास बैंकको सहयोगमा रतुवा पुलमा बाढी मापन यन्त्र जडान गरिएको हो।

यो यन्त्रले खोलाको पानीको सतह मापन गर्ने मात्र होइन, बाढीको जोखिमसम्बन्धी प्रारम्भिक सूचना संकलन तथा प्रसारण गर्ने क्षमता पनि राख्दछ। विशेषगरी वर्षायाममा खोलामा आकस्मिक बहाव बढ्दा पुल तथा आसपासको संरचनामा क्षति पुग्ने जोखिम हुने भएकाले यो प्रविधि जडान गरिएको हो।
पूर्वसूचना प्रणालीलाई दैनिक रेकर्ड हेर्ने कर्मचारी रामलाल महतोका अनुसार अब बाढीसम्बन्धी आँकडा स्वचालित रूपमा केन्द्रमा प्रत्यक्ष पठाइनेछ, जसले पूर्वसूचना प्रणालीलाई बलियो बनाउनेछ। उनी भन्छन् – ‘यसले स्थानीय बासिन्दा, यातायात सेवा सञ्चालक तथा आपतकालीन व्यवस्थापन इकाइहरूलाई समयमै सतर्कता अपनाउन सहयोग पुग्नेछ।’

पुल विस्तारसँगै यस्तो प्रविधिको समावेशले रतुवा पुललाई अब केवल यातायात सुविधा मात्र नभई सुरक्षित पूर्वाधारको उदाहरण बनाउँदै लगेको छ। बाढी जस्तो प्राकृतिक जोखिमका बेला जनधनको क्षति कम गर्न यस्ता प्रविधि आवश्यक र स्वागतयोग्य छन्।कृपाया युट्युव च्यानललाई सब्स्क्राइव गरिदिनहुन हार्दिक अनुरोध छ ।https://youtu.be/aKQBAWNhyCI?si=JHSOuog_2dVu2H0O