
झापा, बैशाख २१ । झापाको गौरादहमा गोरुको मासुसहित पाँचजना पक्राउ परेका छन् । गएराति १ बजेतिर गौरादह नगरपालिका वडा नम्बर–१ क्रसर उद्योग छेउमा बहर काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा गौरादह –१ बस्ने २९ वर्षीय शंकर लिम्बू , सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ , ४५ वर्षीय तिलबहादुर नेम्वाङ ,१९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन् ।
गोरुको मासु बोरामा हाली लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सोधपुछ गर्दा उनीहरुले गौरादह –१ बेलडाँगी पानीट्याङ्की छेउ बस्ने शंकर लिम्बूको घरमा बहर काटी मासु ल्याएको बताएका थिए । त्यसपछि लिम्बूको घरमा गई हेर्दा निलो प्लाष्टिक ओछ्याई बोरा, डोको र सेतो बाल्टीमा बहरको टाउको, खुट्टा, छाला, अण्डकोष फेला परेको थियो ।
अन्दाजी १५० केजी बहरको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (प्रतिदिन दैनिक अनलाइनबाट साभार)