
गौरीगंज / मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरी आज (आइतबार) रामनवमी पर्व मनाइँदैछ । हेरक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइने गरिन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ । चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले आज (चैत २४)मा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको थियोे ।
अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौं अध्यायमा उल्लेख छ । उहाँले रावण लगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ । कर्तव्य पालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ ।
रामनवमीमा रामको चरित्र वर्णन गरिएका भागवत लगायतका पुराण, रामायण लगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ । जनकपुरधाम भगवानको रामको ससुराली भएकाले यहाँ रामनवमी धूमधामसँग मनाउने गरिएको छ । त्रेतायुगमा भगवान् राम र माता सीतासँग जनकपुरधाममै विवाह भएको थियो ।
राम नवमीको अवसरमा जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजापाठ गरिन्छ । जनकपुरस्थित राम जानकी मन्दिरमा भव्य मेला लाग्दछ आज । मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गंगा सागरमा स्नान गरी राम जानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज देशभरका नदी, ताल एवं कुण्डहरूमा नित्य स्नान गरी व्रत बस्ने गरिन्छ र राम गीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीक कृत्य भानुभक्तीय रामायणसमेत वाचन गरिन्छ । रामभक्तियुक्त भजन कीर्तनका साथ रात्रि जाग्राम बस्ने परम्परा समेत चलिआएको छ ।
त्यस्तै काठमाडौं बत्तिसपुतलीस्थित राम मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ । यस्तै, देशभरका अन्य रामजानकी मन्दिरमा पनि दर्शकको घुइँचो लाग्ने गर्दछ ।