१७ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025

बुद्धशान्तिको बर्नेबाट १६ सय ३६ किलो गाँजा र दुई वटा ट्रकसहित दुईजना पक्राउ , दुई फरार



झापा, चैत ९ । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले करीव १६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । ट्रकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनकुटाको शहिदभूमि गाउँपालिका–४ बस्ने २८ वर्षीय महेश राई र इलाम माईजोगमाई गाउँपालिका–२ बस्ने ३७ वर्षिय गंगाबहादुर बस्नेत छन् ।

हिजो दिउँसो ४.२० बजे इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी उपरीक्षक बिक्रम होमागाईको कमाण्डमा खटिएको ६ जनाको विशेष अनुगमन टोली र नं. २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक दिपेन्द्रकुमार तिम्सिनाको कमाण्डमा ५ जना गरी जम्मा ११ जनाको संयुक्त टोलीले चेकजाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिएको हो । मिनी ट्रकहरुलाई नियन्त्रणमा लिने क्रममा ४ जना व्यक्तिमध्ये दुई जना फरार भएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोवाइल सेट समेत बरामद भएको छ । सादा हेलो मोवाइल सेट– १ थान, सादा बोनफ्लाई मोवाईल सेट– १ थान , आइफोन ११ – थान १,आईफोन ११ प्रोम्याक्स – थान १, चार्जर – थान १, भीभो मोवाईल – थान १,पेनड्राईभ – थान १, गंगाबहादुर बस्नेतको मतदाता परिचयपत्र – थान १, छालाको पर्स – १ वटा, एटीएम कार्ड– १ थान , कालो ब्याग १ वटा बरामद भएको छ ।

त्यस्तै नगद रु. ८७,८८०।– (रु. १००० दरको ८७ थान, रु. ५०० दरको १ थान, रु. १०० दरको १ थान, रु. ५० दरको २ थान, रु. २० दरको ६ थान, रु. १० दरको ४ थान र रु. ५ दरको ४ थान) नोट बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकाहरुलाई आबश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ९ : ०१ बजे