२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025

सत्तामा फर्किने अन्तिम प्रयास गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह, के साँच्चै त्यो सम्भव होला ?



२०६२-०६३ को जनआन्दोलनबाट अपदस्त राजा ज्ञानेन्द्रलाई फेरि सत्तामा फर्काउने दावीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजावादी समुहले शुरु गरेको प्रयासले देशमा फेरि राजनीतिक अस्थिरता शुरु हुने त होइन भन्ने आंशका जन्माएको छ । 

उक्त जनआन्दोलनमा सहकार्य गरेका राजनीतिक पार्टीका नेताहरुले पटक पटक त्यस्तो दुस्साहस नगर्न राजावादी भनिएकाहरुलाई चेतावनी दिंदै आएका छन् भने राजावादी भनिएकाहरु भने जसरी पनि ज्ञानेन्द्रलाई सत्तामा पुर्याएर फेरि राजतन्त्र स्थापना गर्ने दावी गरिरहेका छन् । त्यसको लागि आफूहरु मर्न र मार्न तयार रहेको उनीहरुको भनाइ छ । यस्ले गर्दा अबको केही समय फेरि राजनीतिक भिडन्त हुने आशंका गरिएको छ ।

अहिले पोखरा भ्रमणमा रहेका ज्ञानेन्द्र २५ गते आइतबार काठमाडाैं फिर्ता हुँदैछन् । राजावादीहरुले त्रिभुवन विमानस्थलबाट जयजयकार गराउँदै उनलाई सोझै नारायणहिटी लगेर गद्धीमा बसाल्ने दावी गरेका छन् । त्यसको लागि उनीहरुले ज्ञानेन्द्र पोखराबाट आउने समय पारेर कार्यकर्तालाई विमानस्थलमा जम्मा हुन उर्दी जारी गरेका छन् । विभिन्न कोणबाट सत्तामा फर्किने दाउ हेरिरहेका पूर्व राजाले आफूलाई साथ दिने बलियो राजनीतिक संगठन नपाएपछि आफै अघि सर्न लागेको संकेत फागुन ७ गते प्रजातन्त्र दिवसको दिन उनले दिएको शुभकामना सन्देशमा स्पष्ट हुन्छ । त्यसबाट हौसिएका राजावादीहरु राजतन्त्र फर्काउने उपयुक्त समय अहिले नै भएको निष्कर्षमा पुगेका हुन भन्न सकिन्छ ।

अधिकांश राजावादीहरुको बुझई अहिले परिस्थितिको अनुकुल बनेको छ । एक त राजनीतिक दलहरुबीचको चुलिँदो विवाद, जनतामा बढ्दो असन्तुष्टि, झण्डै ८ दशक पुग्न लागेका ज्ञानेन्द्रको शारिरिक अवस्था र उनकै पालमा राजतन्त्र स्थापना नभए छोरा पारसको अराजनीतिक चरित्रको कारण अहिले नै राजतन्त्र स्थापना गर्न नसके फेरि त्यस्तो मौका नआउने राजावादीहरु पुगेको देख्न सकिन्छ ।

तर, के साँच्चै यति सजिलै गणतन्त्र ढलेर राजतन्त्र स्थापित हुने अवस्था छ ? त्यो भने त्यति सहज देखिदैन । किनकी दलका नेताहरुको व्यवहारको कारण चरम असन्तुष्टि भए पनि जनता अझै उनीहरुको साथमा छन् भन्ने कुरा चुनावी परिदृश्यहरुले स्पष्ट पार्छ । आजको दिनमा कुनै पनि राजावादी शक्ति देशको निर्णायक शक्ति होइनन् । स्वंय उनीहरुबीच मेल मिलाप छैन । पूर्व राजाको नेतृत्वलाई सबै राजावादीहरुले स्वीकार गरे पनि आफू आफूमा भने उनीहरु बीच नै काटाकाट र मारामार देखिन्छ । राजेन्द्र लिङदेन, कमल थापा र दुर्गा प्रसाई राजावादी धारका मुख्य नेताहरु हुन् । तर, उनीहरु बीच नै मित्रतापूर्ण सम्वन्ध छैन । पाएसम्म एक अर्काेलाई सिध्याउने प्रयास गर्छन् । राजावादी भनिएका संघ संस्थाहरुको हालत पनि त्यस्तै छ ।

अर्काेतर्फ अहिले एक आपसमा लडिरहेका राजनीतिक पार्टी र तिनका नेता कार्यकर्ताहरु गणतन्त्रको पक्षमा तुरुन्तै एक हुने कुरामा शंका छैन । किनकी गणतन्त्रलाई उनीहरु हरेकले स्वामित्व लिएका छन् । आफूहरु जति विवाद भए पनि, लडाई भए पनि गणतन्त्रको पक्षमा उभिने विषयमा उनीहरुबीच कुनै विवाद छैन । राजावादीहरु अलि चर्कैरुपमा प्रस्तुत भएमा त्यसलाई दबाउनको लागि राजनीतिक पार्टीका युवा र विद्यार्थी संगठनहरु सडकमा उत्रने र त्यसले मुडभेड हुन सक्ने सम्भावना प्रवल छ । त्यसो भएमा केही दिनको लागि काठमाण्डौका सडकहरु जिन्दावाद र मुर्दावादको नाराका साथ भागदौडबाट तात्नेछ । त्यो भन्दा बढी अरु के होला ? त्यो भने आइतबार दिउसोको पछिको अवस्थाले निर्धारण गर्नेछ ।

बाँकी रह्यो, बैदेशिक शक्तिको कुरा । भोलि के होला ? त्यो आफ्नो ठाउँमा छ तर आजको दिनमा भारत वा चीन कुनै पनि पक्षले ज्ञानेन्द्रलाई गद्धिमा बसाल्नको लागि गरिने भनिएको आन्दोलनलाई समर्थन गर्ने अवस्था देखिएको छैन ।

राजावादी शक्तिले गणतन्त्र उल्टाउन गरेको यो नै पहिलो प्रयास होइन । गत वर्ष मंसिर ७ गते दुर्गा प्रसाईले लाखौं जनता सडकमा उतार्ने भन्दै गरेको प्रदर्शन एक दिनमै तितर वितर भएको थियो । अहिले ज्ञानेन्द्र आफै अगाडि सरेकोले सडक प्रदर्शन केही दिन लम्बिन सक्छ तर व्यवस्था नै उल्टिने आधार भने देखिदैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ४० बजे