१७ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025

कोचहरुलाई फकाउन केराको पातमा प्रचण्डले खाए माछा भात



झापा, फागुन १४ / पटक पटक कोचहरुलाई धोका दिँदै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि तिनै कोच राजवंशीको घरमा खाना खाएका छन् । सत्तामा पुगेपछि बिर्सिने र अप्ठ्यारो पर्दा सहयोग माग्ने बानी परेका प्रचण्डले झापा आउँदा कोचहरुकै घरमा खाना खाने गरेका छन् । कोचहरुलाई फकाउन सहिद सुनिल राजवंशीको कचनकवलस्थित घरमा सोमवार प्रचण्डसहितका शीर्ष नेताहरुले रमाउँदै कोच संस्कृतिका परिकार खाएका हुन् ।

हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानका क्रममा उनीहरू कचनकवल पुगेका थिए ।सहिद राजवंशीको घरमा उनीहरूले केराको पातमा खाना खाएका हुन् । उसिना चामलको भात , पेल्का , आलुको भाजी , सिदलको साना (सिद्राको अचार), पेपको साना (कर्कलोको अचार) , दालको बोरी (दालको पकौडा), अर्कचा (पातलाई बेरेर चामलको पीठोमा मुछेर पकाइएको तरकारी ),दाल , कमन कार्प माछा खुवाइएको सहिद परिवारका सदस्य मोती राजवंशीले बताए ।

लक्ष्मी क्याम्पसका क्याम्पस प्रमुखसमेत रहेका राजवंशीले कोचहरु कसरी सुरक्षित रहन सक्छन् भनेर साझा चिन्ताको विषय बनिरहेपनि माओवादी पार्टीले आवश्यक पर्दा सहयोग लिने र पछि बिर्सिदिने प्रवृतिका कारण सहिद परिवारका आफूहरुको मन मर्दै गएको प्रतिक्रिया दिए । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायतका शीर्ष नेता सँगै बसेर खाना खाएका थिए । करिव २ सयजनालाई खाना खुवाउने प्रवन्ध मिलाइएको थियो । स्थानीयकै सहयोगमा त्यसको व्यवस्थापन गरिएको क्याम्पस प्रमुख राजवंशीले बताए ।

यसअघि गत पुष १५ मा प्रचण्डले कोच राजवंशीको घरमा केराको पातमा पेल्का र माछा भात खाएका थिए । गौरीगञ्जमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न आएका प्रचण्डले माओवादी केन्द्रका गौरीगञ्ज १ का वडा कमिटी अध्यक्ष तिलक राजवंशीको महाभारास्थित घरमा कोच संस्कृति अनुसार खाना खाएका थिए । त्यसबेला पनि उनले केराको पातमा उनले उसिना चामलको भात , लाफाको पेल्का (लाफा सागको दाल जुन चिप्लो हुन्छ ), आलु र फूलकोभीको भाजी र रहुँ माछा खाएका थिए ।

कोचहरुको घरमा प्रचण्डले केराको पातमा खाना खाएपछि त्यसप्रति विभिन्न व्यक्तिहरुले प्रतिक्रिया दिएका छन् । बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईले उहिले आफूसंगै मार्सी चामलको भात खाएको तस्वीर सामाजिक संजालमा पोस्ट गर्दै लेखेका छन् ,‘ चरेसको थालले पुगेन। केराको पातले के पुग्ला ? मार्सीले पुगेन ।ढिंडोले के पुग्ला ? बन्दुकले पुगेन ।गफले के पुग्ला ? कमरेड सत्ताले पुगेन । गाउँको गुन्द्रीले के पुग्ला ? अब जनता जति झुक्किने झुक्किए , नझुक्काउनुस फेरि । तपाईहरुका झुट्टा सपनाले थाकिसके जनता,अब नथकाउनुस् फेरि ।’ (साभार प्रतिदिन दैनिकबाट)

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : ५६ बजे