गौरीगंज १६, माघ / गौरीगंज गाउँपालिकाका वार्ड नं. १ स्थित बालुवाडी खेलकुद मैदानमा ३ दिवसीय गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता मंगलवारदेखि सुरु भएको छ ।
गौरीगंज गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपाने कुवँरले ब्यानर पढेर उक्त प्रतियोगिताको उद्घाटन गरेका छन् । गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम थापाको अध्यक्षतामा भएको प्रतियोगिता स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलाडी भन्ने नाराकासाथ शुरु भएको हो । उक्त अवसरमा स्काउट र विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए । प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ ।
गौरीगंज गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाका सबै वडाका सामुदायीक तथा निजी विद्यालयका छात्रछात्राहरुले विभिन्न खेलहरुमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पालिकाका उपाध्यक्ष कुवँरले यस्ता किसिमको प्रतियोगिताले विद्यार्थीहरुलाई खेलकुद प्रति अभिरुची बढ्नुका साथै उर्जा थपिने बताएका छन् । शिक्षा र खेलकुदको माध्यमले गाउँपालिकालाई विकसित बनाउने र राष्ट्रपति रनिङ्गशिल्ड जस्ता प्रतियोगिताले भोलीका दिनमा यहाँका बालबालिकाहरुलाई राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय स्तरका खेलमा समेत भाग लिन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय हुनेलाई गाउँपालिकाले पुरस्कारको पनि व्यवस्था गरेको बताइएको छ । उद्घाटन कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पुजन न्यौपाने कुवँर, प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, प्याब्सन झापाका जिल्ला सदस्य कल्पना थापा, खजुरगाछी माविका प्र.अ. गहेन्द्र विक्रम साह, लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापा, गौरीगंज बहुमुखी क्याम्पसका सञ्चालन समितिका अध्यष मखना महतो, नेकपा एमालेका गौरीगंज अध्यक्ष विष्णु न्यौपाने, वार्ड अध्यक्षहरु, वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, खेलकुद समितिका पदाधिकारीहरु, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा शिक्षिकाहरु, विभिन्न खेलका प्रशिक्षकहरुलगायतको सहभागिता थियो । उद्घाटन कार्यक्रम बालकल्याण माविका प्र.अ. भिम कोइरालाले सञ्चालन गरेका थिए भने स्वागत शिक्षा शाखा प्रमुख टंक खरेलले गरेका थिए ।