दमक १७, पुस / झापाको गौरादहका विपन्न तथा कम्जोर आर्थिक अवस्थाका करिब एक सय परिवारलाई कठ्याग्रिंदो जाडो छल्न लायन्स क्लब मार्फत बेल्जियमबाट एक दाता परिवारले कम्बल र खाद्यन्न प्रदान गरेका छन् ।
लायन्स क्लब इन्दटरनेशनल ३२५ सीका एनआरएन पार्टनरसीप संयोजक गौरादह निवासी सामाजिक तथा व्यवासयी नेता भुपालराज कट्वालको समन्वयमा बेल्जियममा रहेका विप्लव र श्रृजना घिमिरेले सो सहयोग प्रदान गरेका हुन् ।
दाता घिमिरे परिवारबाट प्राप्त सो सहयोग तथा राहत सामग्री आज बुधबार गौरादह बजारमा आयोजित कार्यक्रमका बीच लक्षित परिवारलाई हस्तान्तरण गरिएको हो । लायन्स क्लब गौरादहको आयोजनामा औपचारिक कार्यक्रम मार्फत प्रति परिवार एक/एक थान न्यानो कम्बल र खाद्यन्न सहयोग हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब इन्टरनेशनल ३२५ सीका डिस्ट्रिक गभर्नर बिकास अधिकारीको प्रमुख आतिथ्य र गौरादह २ निवासी बयोबृद्ध समाजसेवी कर्णबहादुर कट्वालको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा गौरादह नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, शुभलक्ष्मी सहकारीका अध्यक्ष प्रकाश कार्की, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरु लक्ष्मी बारकोटी प्रसाइँ लगायतले लक्षित परिवारलाई ति सामग्री हस्तान्तरण गरेका थिए ।
सो अवसरमा सहभागीहरुले दाता परिवारले मानव सेवा र परोपकारका लागि गरेको सहयोग प्रशंसनिय भएको उल्लेख गरे ।
कार्यक्रम लायन्स क्लब गौरादहका प्रेसिडेन्ट किशोर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । तराईमा तीन दिनदेखि लगातार चिसो बढ्दै गएकाले आजदेखि यस क्षेत्रको जनजिवन प्रभावित बनिरहेको छ । बढ्दो चिसो मौसममा विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकहरु पर्याप्त न्यानो कपडा र खानेकुराको अभावमा संकट झेलिरहेका हुनाले यस किसिमको सहयोग महत्वपूर्ण मानिन्छ ।
१७ पुस २०८१, बुधबार
420
Shares