२१ पुस २०८१, आइतबार | Mon Jan 6 2025

कांग्रेसलाई सशक्त बनाउन गुटउपगुटको अन्त्य हुन जरुरी: केन्द्रीय सदस्य गिरी



झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले गुटउपगुटका कारण पार्टी कमजोर र धर्मराएको अवस्थाबाट गुज्रिरहेको बताउनु भएको छ ।

कांग्रेसको सय दिने अभियानको समापन, ४९औँ राष्ट्रिय मेलमिलाप दिवस तथा कांग्रेस जिल्ला भेलालाई झापाको बिर्तामोडमा मंगलबार सम्बोधन गर्दै गिरीले भन्नुभयो,’गुटले पार्टी भित्रभित्रै सकिएको छ, पार्टीलाई सशक्त बनाउन जरुरी छ, त्यसका लागि पार्टीमा साँचो एकता जरुरी छ ।’

नेविसंघ, तरुण दल, भ्रातृसंगठन र शुभेच्छुक संस्थालाई चलायमान नबनाएसम्म पार्टी सशक्त नहुने जिकिर गर्नु भयाे ।   धरमराएकै अवस्थामा पार्टीमा महाधिवेशनको हावा चलेको टिप्पणी गर्नुभयो । कांग्रेसले सञ्चालन गरेको सय दिने अभियानको झापा प्रतिनिधिसमेत रहनु भएको गिरीले मासबेस पार्टीमा अनुशासनको आवश्यकता अपरिहार्य हुनेमा जोड दिनुभयो ।

संघीय सांसदसमेत रहनु भएको गिरीले संविधान र पार्टी विधान संशोधनमा जोड दिँदै त्यसका लागि स्पष्ट खाका जरुरी हुने औँल्याउनु भयो । ‘संविधानमा सुधार जरुरी छ, तर त्यो काम भनेको र सोछे जस्तो सजिलो छैन’ नेता गिरीको तर्क छ। अहिलेकै अस्पष्टतामा संविधान संशोधनको कुरा निरर्थक हुने उहाँको भनाइ छ ।

दुविधाकाबीच मिश्रित प्रणाली अपनाइएको दाबी गर्दै गिरीले देश आर्थिक, सामाजिक र राजनीति रूपमा अस्थिर भएको बताउनुभयो । कांग्रेस कमजोर भएको बेला अस्थिरता छाउने उल्लेख गर्नुभएको उहाँले बारबार सरकार परिवर्तन हुने कुरा त्यसकै उपज भएको जिकिर गर्नुभयो ।

कांग्रेसले नयाँ बाटो कोर्नै पर्ने अवस्था सम्मुखमा रहेको पटकपटक दोहोर्‍याउनु भएको उहाँले त्यसो गर्न नसके कांग्रेसमा समस्या सिर्जना हुने ठोकुवा गर्नुभयो । निकटताका आधारमा कसैमाथि प्रहार र अन्याय गर्न नहुनेमा उहाँले जोडदिनुभयो ।

गिरीले मुलुक बचाउन बिपी मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको स्मरण गर्नुभयाे ।  बिपीले अवलम्बन गरेको बाटो पूर्ण भएपनि स्वार्थका कारण नेताले त्यसलाई अपूर्ण बनाएको उहाँले आरोप लगाउनुभयो ।

फरक प्रसंगमा उहाँले पासपोर्ट र नागरिकताको कुरा लुकाएर रवि लामिछाने माथि गरिएको अनुसन्धान अपुरो रहेको धारणा राख्नुभयो। ।

कार्यक्रममा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, केन्द्रीय सदस्यद्वय सुशीला ढकाल र गोमा भट्टराई, कांग्रेस झापा सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे, सचिव नवीन विमली, कोशी प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, नेपाली काँग्रेस कोशी प्रदेश सदस्य तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, झापा २ का क्षेत्रीय सभापति खगेन्द्र मैनाली, शिवसताक्षी नगर समिति सभापति अशोक बस्नेत, बुद्धशान्ति गाउँ सभापति चक्र शेर्माले बोल्नुभएको थियोे ।

मेलमिलाप नीति लिएर बिपी कोइराला नफर्किएको भए देशमा प्रजातन्त्र पुनःस्थापन हुन असम्भव भएको उहाँहरुले मत राख्नुभयो । बिपीकै योगदानका कारण मुलुकमा गणतन्त्रसम्मको यात्रा सम्भव भएको उहाँहरुकाे मत थियाे ।

उहाँहरुले पार्टीभित्रको गुटउपगुट अन्त्य गरेर संगठन व्यवस्थित र कार्यकर्तामुखी बनाइनुपर्ने, कार्यकर्ता र नेतृत्व दुवै अनुशासित बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ७ : १७ बजे