२१ पुस २०८१, आइतबार | Mon Jan 6 2025

प्रचण्डले ओलीकै क्षेत्रमा आएर तुच्छ गाली गरेपछि एमाले कार्यकर्ताको खरो प्रतिक्रिया



झापा, पुष १६ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा आएर तुच्छ गाली गरेपछि एमाले कार्यकर्ताहरु आक्रोशित भएका छन् । हिजो ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं. ३ मा आयोजित पार्टीको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई देशकै सबैभन्दा ‘जाली, झेली, कपटी, र बेइमानी’ व्यक्ति भएको बताएका थिए । त्यस किसिमको गाली बेइज्जतीसंगै प्रचण्डले ओलीको विरुद्धमा अन्य नानाभाती कुरा संबोधनका क्रममा भनेका थिए । साथै प्रचण्डले ओलीको संलग्नता रहेको आरोप लगाउँदै गिरीबन्धु टी इस्टेट , ओम्नी , वाइडबडीजस्ता प्रकरणको पर्दाफास गरेरै छाड्ने चेतावनी दिएका थिए ।

प्रचण्डको त्यस्तो अभिव्यक्तिप्रति एमाले नेता कार्यकर्ताहरु आक्रोशित भएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सामाजिक संजालमा प्रतिक्रिया दिँदै यस्तो आक्रोश व्यक्त गरेका छन्, ‘झुट,बदनियतपूर्ण र अशोभनीय अभिब्यक्ति के सत्ता च्युत भएपछिको अराजनीतिक अभिव्यक्ति मात्रै हो ?त्यति मात्रै त हुँदै होईन , अशोभनीय र असंतुलित त हुँदै हो !!तर मानसिक असंतुलन चै नहोस् भन्ने हार्दिक शुभकामना छ !!!’

त्यस्तै बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौलाले प्रचण्डको अब तालुमा आलु पाक्ने भयो भनेर प्रतिक्रिया दिएका छन् ।

त्यस्तै गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले खरो प्रतिक्रिया दिएकी छन् । उनले प्रचण्डले बोलेजस्तै ‘पापी ,अपराधी तिमी हौं प्रचण्ड ,तिम्रो कहिल्यै भलो नहोस् ’ भनेर सामाजिक संजालमा लेखेकी छन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ५ : ०२ बजे