२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

झापाली मन्त्री दाहालसंग बजेट माग्नेको ओइरो



झापा, असोज १३ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दाहाल केही दिनदेखि गृहजिल्ला झापामा छन् । जिल्लाको विभिन्न ठाउँको अनुगमनमा रहेका दमक निवासी दाहालसंग बजेट माग्नेको ओइरो नै लागेको छ । यसक्रममा नेकपा एमाले जिल्ला कमिटी झापाले मन्त्री दाहाललाई विभिन्न योजनाका लागि बजेट माग गर्दै आज स्मरणपत्र बुझाएको छ । जिल्ला पार्टी कार्यालयमा मन्त्री दाहाललाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले स्मरणपत्र बुझाएका हुन् ।

झापामा निर्माण भइरहेका सडक र पुलहरु रकम अभावमा अलपत्र परेकाले तिनीहरुको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, हुलाकी राजमार्ग, एशियन हाइवे, मदन भण्डारी राजमार्ग र रेलमार्ग अन्तर्गतका सडक पुलहरुको काममा देखापरेका सबै असजिलाहरुको हल गरी अबिलम्ब निर्माण कार्य सुचारु गराउनु पर्ने , केचना–कन्चनजंघा अन्तरदेशीय सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने , इलामको भालुखोपदेखि खुदुनाबारी हुँदै बिर्तामोड तथा दुर्गापुर जोड्ने सडकका लागि पर्याप्त बजेटको व्यवस्थापन गर्नुपर्ने , दमक–चिसापानी सडकको काम प्राथमिकताका साथ अघि बढाउनुपर्ने , क्षेत्र नं. १ मा एउटा सडक र दुईवटा पुल, क्षेत्र नं. २ मा एउटा सडक र दुईवटा पुल, क्षेत्र नं. ३ मा दुईवटा सडक र तीनवटा पुल, क्षेत्र नं. ४ मा एउटा सडक र दुईवटा पुल र क्षेत्र नं. ५ मा एउटा सडक र दुईवटा पुलको अत्यन्त आवश्यकता रहेकाले त्यसको व्यवस्थापन गर्नुपर्ने , बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयनजिकै यातायात मन्त्रालयको नामको जमिन प्रयोगबिहिन रहेकाले आवश्यकता अध्ययन गरी कार्यान्वयन गर्नुपर्ने , रेल परियोजनाका लागि वर्षौंदेखि सयौं परिवारको रोक्का गरिएको जमिनको मुआव्जा प्रदान गरेर वा रोक्का फुक्का गरी उनीहरुलाई न्याय प्रदान गरिनु पर्ने , कनकाई वा शिवसताक्षीलाई स्टेशन आधार मानी इलामको विभिन्न भूभागलाई जोड्ने विद्युतीय आकाश मार्गको सम्भाब्यता अध्ययन गर्नुपर्नेलगायतका माग गरिएको छ । सोही कार्यक्रममा बिर्तामोडका नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा अधुरा रहेका बाटोको निर्माणमा मन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । मन्त्री दाहालले आजै बिर्तामोडका विभिन्न विकास योजनाको अनुगमन गरेका छन् । मन्त्री दाहालले बिर्तामोड–भद्रपुर सडकखण्ड, शनिश्चरे रोड, हर्कलाल रोड, गोकुल जोशी मार्ग, चन्द्रमार्गलगायतको स्थलगत अनुगमन गरेको नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
निर्माणाधीन विकास योजनाको अनुगमनपछि मन्त्री दाहालले समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका छन् । मन्त्री दाहालले बिर्तामोड वडा नम्बर ७ को पर्यटकीय क्षेत्र सहिद नेत्रपार्कको समेत अवलोकन गरेका छन् ।

नेत्रपार्कको प्रवेशद्वार नजिक रहेको देउनिया खोलामा रहेको काठे पुल प्रतिस्थापन गर्दै पक्की पुल निर्माणमा पहल गर्ने प्रतिबद्धता मन्त्री दाहालले व्यक्त गरेको एमाले नगर कमिटीका अध्यक्ष भट्टराईले बताए । यसअघि हिजो मेचीनगर नगरपालिकाले मन्त्री दाहाललाई दश सुत्रीय माग राखेको थियो ।
मेचीनगरस्थित बाहुनडाँगीबाट सुरू भएर १४ जिल्लालाई जोड्ने मदन भण्डारी लोकमार्गको स्थलगत निरीक्षण गर्ने क्रममा आइपुगेका मन्त्री दाहाललाई निमित्त नगर प्रमुख मीना पोखरेल उप्रेतीले मागपत्र पेश गरेकी थिइन् ।

मागपत्रमा सडक, पुल , बसपार्क र खेलमैदानलाई समेटिएको छ । सडकअन्तर्गत संघीय निर्वाचन क्षेत्र स्तरीय रणनीतिक सडक राधास्वामी, भावना चोक, स्याङल्याङटार, इलाम जोडने सडकको बाँकी छ किलोमिटर निरन्तरता, मेची करिडोर काँकरभिट्टा, बाहुनडाँगी र सलकपुरको निरन्तरता र मेचीनगर क्षेत्रका रिङरोडलाई समेटिएको छ । मेचीनगर २ र ३ नम्बर वडामा पर्ने भावना चोक भृकुटी जोड्ने र मेचीनगर १५ को चौधरीचोक हेल्दुबारी जोड्ने निन्दा खोलामा पुल निर्माणका लागि डीपीआर सडक विभागमा रहेको तथा निर्माणाधिन अवस्थामा रहेको सुके निन्दा खोलाको पुलका लागि बजेट अभाव रहेको र सडक डिभिजन कार्यालय दमकमा यस विषयमा जानकारी गराईएको मागपत्रमा उल्लेख छ ।

मेचीनगर वडा नम्बर १ को तिरीङ खोलामा पुल र मेचीनगर ११ कालिका सामुदायिक वनबाट डिपु डाँडासम्म वडा कार्यालय जाने बाटोको हडिया खोलामा पुल निर्माणका लागि बजेट माग गरिएको छ । अन्तर्राष्ट्रिय सिमानामा रहेको नेपालको पूर्वीद्वार काँकरभिट्टामा रहेका बसपार्कलाई टर्मिनल भवनसहितको सुविधासम्पन्न बसपार्क निर्माण गर्न र त्यसका लागि डीपीआर तयार भइसकेको समेत मागपत्रमा भनिएको छ । यसैगरी, सुविधासम्पन्न रंगशालाका लागि समेत मन्त्री दाहालसमक्ष माग गरिएको छ ।

बाढी पहिरोले राजधानीलगायत देशभरिका सडक भत्किएर मुख्य राजमार्गहरुमा यातायात पूर्णरुपमा अवरुद्ध भएको अबस्थामा यातायात व्यवस्था मन्त्री दाहाल झापामै रहेका छन् । प्रतिदिन दैनिकबाट

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : ३६ बजे