५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राजवंशी जातिका दुई इन्स्पेक्टर



झापा,असोज ५ । निजामति क्षेत्रसंगै प्रहरी सेवामा पनि राजवंशी जातिको पहुँच पुग्न सकेको छैन । सिपाहीमा मात्र सीमित रहेका राजवंशी जातिबाट मुश्किलले तीनजना सिनियर अधिकृत बनेका छन् । राजवंशी जातिबाट प्रहरी सेवामा सवैभन्दा माथिल्लो ओहोदामा पुग्ने झापा बाह्रदशी ५ का चन्द्र राजवंशी हुन् । उनी प्रहरी नायव उपरीक्षक(डीएसपी) बनेर केही वर्षअघि रिटायर्ड भएका छन् ।

त्यस्तै हाल दुईजना प्रहरी निरीक्षक(इन्स्पेक्टर) कार्यरत छन् । नेपाल प्रदेश प्रहरी कार्यालय सुनसरी धरानमा कार्यरत धनबहादुर राजवंशी र इलाका प्रहरी कार्यालय धुलावारीका प्रमुख पाण्डवकुमार राजवंशी प्रहरी निरीक्षक हुन् । राजवंशी जातिबाट प्रहरी निरीक्षक बन्ने दुवैजना मोरङ सुनवर्षी नगरपालिकाका हुन् । धनबहादुर वडा नं ३ बभनाडोव र पाण्डव वडा नं ५ झुंगी टोलका स्थायी बासिन्दा हुन् । एउटै नगरपालिकाका दुवैजनाले एउटै मिति २०५५ कार्तिक ११ गते प्रहरी सहायक निरीक्षक(असई) मा जागिर थालेका थिए । एउटै व्याजमा जागिर खाएका दुवैजना हाल एउटै तहमा छन् ।

२०७८ को जनगणना अनुसार झापा , मोरङ र सुनसरीमा बसोबासरत आदिवासी राजवंशी जातिको जनसंख्या करिव १ लाख ३५ हजार रहेको छ । राजवंशी जातिबाट प्रहरी सेवामा करिव २ सयजना लागेको अनुमान गरिएको छ । त्यसमध्ये हाल दुईजना सिनियर अधिकृत छन् भने करिव २० जना जुनियर अधिकृत(सई र असई) रहेको अनुमान गरिएको छ । त्यसबाहेक अधिकांश सिपाहीमा कार्यरत छन् ।

राजवंशी जातिमा प्रहरी नायव उपरीक्षक(डीएसपी) भन्दा माथि जान सक्ने अबस्था देखिदैन । यसअघि चन्द्र राजवंशी डीएसपी भएर सेवा निवृत्त भए भने हाल प्रहरी निरीक्षकमा कार्यरत पाण्डव र धनबहादुर पनि एक तहभन्दा माथि जानसक्ने अवस्था छैन । राजवंशी जातिबाट पढेलेखेका युवा युवतीहरु प्रहरी सेवामा नभिडेका कारण प्रहरी अधिकृतमा आफूहरुको पहुँच पुग्न नसकेको प्रहरी निरीक्षक धनबहादुर बताउँछन् । उनले प्रहरी सेवामा लाग्न आफूहरुले आफ्ना जातिलाई प्रोत्साहित गर्दै आएको जानकारी दिए ।

भूमिपुत्र भएकाले राजवंशीहरु फौजी जागिरमा दुःख गर्न नचाहेको अर्का प्रहरी निरीक्षक पाण्डवको बुझाई छ ।‘ भिड्नु पर्यो ,तालिम गर्नुपर्यो, खटाई धेरै छ’ पाण्डवले भने,‘बाबुबाजेको पालादेखि सुखसयलमा बसेका राजवंशीहरु त्यो दुःख गर्न चाहदैनन् ।’ सम्मान र प्रतिष्ठाको हिसावले प्रहरी सेवा आकर्षक पेशा भएकाले जसरी भएपनि लाग्न दुवै प्रहरी निरीक्षकले आव्हान गरेका छन् ।

जनपद प्रहरीसंगै सशस्त्र प्रहरी र नेपाली सेनामा पनि राजवंशी जातिको उपस्थिति खासै देखिदैन । सशस्त्र प्रहरीमा जुनियर अधिकृतसम्म बनेका छन् भने नेपाली सेनामा हालसम्मकै उच्च ओहोदा कर्नेल बनेर चन्द्रगढीका चन्द्र राजवंशी रिटायर्ड भएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : १७ बजे