३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

लागूऔषद न्युनिकरण गर्न एक्सनमा जान्छु : इन्स्पेक्टर राजवंशी



धुलाबारी, १ असोज । भर्खरै इलाका प्रहरी कार्यालय धुलाबारीको कमाण्ड समाल्न आएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पाण्डवकुमार राजवंशीले लागूऔषद न्युनिकरणका लागि एक्सनमा जाने बताएका छन् ।

पत्रकारहरुसँगको परिचायत्मक कार्यक्रममा इन्स्पेक्टर राजबंशीले धुलाबारी लगायत देशका विभिन्न नाकामा लागूऔषदको ओसारपसार, कारोवार र प्रयोगको अवस्था भयावह रहेकोले यसको न्युनिकरण गर्न सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका हुन् ।

धुलाबारी मोडदेखि एक किलोमिटर दक्षिण ‘छोटा पाकिस्तान’ को रुपमा परिचित क्षेत्रमा लागूऔषदको ओसारपसार, कारोवार र प्रयोग हुने गरेको प्रहरीको भनाई छ ।

भारतबाट प्रतिबन्धित लागूऔषदका सामान उक्त ठाउँमा ल्याउने गरिएको छ । सामानलाई साना–साना पेकेटमा प्याकेजिङ गरेर त्यहि बिक्री वितरण हुने गरेको प्रहरीको अनुमान छ ।

‘छोटा पाकिस्तान’ मा हुने लागूऔषदको अवैध धन्दालाई भत्काउने कोशिस गरिने इन्स्पेक्टर राजबंशीले बताए ।

‘यसअघि मोरङमा बस्दा लागूऔषदकै काण्डमा पक्राउ गर्न बाध्यताबस गोली चलाउनु परेको थियो’, राजवंशीले भने–‘यहाँ पनि त्यस्तो भेटिए, एक्सनमा जाँदा गोली चलाउने परिस्थिति आउन सक्छ । त्यस्तो बेलामा पछि हट्न सकिदैन । तर, स्थानीयको साथ चाहिँन्छ ।’

उनले भने ‘प्रहरीको मात्र एकल प्रयास त्यो सम्भव हुँदैन । पत्रकार–प्रहरीको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्छ । स्थानीयको सहयोग उति नै आवश्यक छ । जस्ले गर्दा लागूऔषद, अवैध धन्दा रोक्न, महिला तथा बालबालिका, घरेलु हिंसा लगायतका घटनामा एक्सन प्लानमा जान सकिन्छ ।’

कार्यालयको गत ३ वर्षको तथ्याङ्क हेर्दा पनि लागूऔषद, जवरजस्ती करणी, अपराधिक घटना, आत्महत्या, ज्यान मुद्दा लगायतका घटना धेरै भएका पाइएको छ । त्यस्मा प्रहरी केहि हदसम्म सफल भएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार २०७८÷७९ सालमा लागूऔषदमा ३९ जना पक्राउ, ७९ ग्राम १० मिलिग्राम खैरो हिरोइन, ५ सय केजी ४१ ग्राम गाँजा तथा ११ बोतल ३० चक्की औषधिजन्य वस्तु बरामद भएको थियो ।

२०७९÷८० सालमा लागूऔषदमा २३ जना पक्राउ, ११२ ग्राम ८३० मिलिग्राम खैरो हिरोइन, ४० केजी आठसय ग्राम गाँजा तथा ११ बोतल २७४ चक्की औषधिजन्य वस्तु बरामद भएको थियो ।

यस्तै, २०८०÷८१ सालमा लागूऔषदमा २६ जना पक्राउ, १९७ ग्राम १८० मिलिग्राम खैरो हिरोइन, १४ केजी ग्राम गाँजा बरामद भएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार २०७८/७९ मा आत्महत्याका घटना ५२, २०७९/८० मा ३१ र २०८०/८१ मा ३२ रहेको छ ।
यस्तै २०७८/७९ मा जवरजस्ती करणीका मुद्दा १२, २०७९/८० मा ९ र २०८०/८१ मा १५ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा छ । (मेचीनगर अनलाइनबाट साभार)

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १० : ५० बजे