२५ भदाै, विराटनगर / १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क माग गर्दै अनशन बसेका केदार कार्कीका समर्थक र प्रहरीबीच झडप भएको छ ।
प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले हटाउन खोजेपछि उनका समर्थक र प्रहरीबीच झडप भएको हो । कार्कीले मंगलबार दिउँसो ४ बजे अनशन सुरु गर्ने बताएपछि जिल्ला प्रशासन कार्यालय मोरङले एक घण्टा अघि त्यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । तर कार्की निषेधित क्षेत्र भनिएकाे प्रदेशसभा सचिवालय अगाडि गएर अनशन बसे ।
सुरुमा प्रहरीले निषेधित क्षेत्रबाट हट्न आग्रह गरेको थियो । तर कार्की तयार भएनन् । बेलुका प्रहरीले हटाउन सामान्य बल प्रयोग गरेपछि झडप भएको हो । प्रहरीले लाठी चार्जका क्रममा कार्कीका समर्थकलाई पक्राउ गरेको छ । दश वर्ष मुनिका बालवालिकाका लागि विशिष्टीकृत सेवासहितको निःशुल्क उपचार, बजेटमा २५ लाख रूपैयाँ भन्दा कमका योजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रलाई पूर्ण रुपमा सञ्चालनलगायत ९ बुँदे मागसहित आन्दोलनमा अनशनमा छन् ।