२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

कमल – ७ लखनपुरमा रहेको प्रादेशिक आयुर्वेद अस्पतालको सेवा विस्तार



झापा, भदौ २३ । कमल गाउँपालिका वडा नं.७ लखनपुरमा रहेको प्रादेशिक आयुर्वेद अस्पतालको सेवा विस्तार भएको छ । एक्सरे, अन्तरङ्ग, इसिजी, जडीबुटीबाट औषधि उत्पादन, जीवन व्यवस्थापन पद्धतिलगायतका सेवा विस्तार गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ती सेवाहरुको आइतवार शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री कार्कीले आयुर्वेद चिकित्सालाई स्तरीय बनाएर अगाडि लैजानु पर्ने बताए ।
उनले कोशी प्रदेश जडिबुटीहरुको समेत भण्डार रहेको र यही औषधि उत्पादन गरेर प्रदेशको आम्दानी बढाउन सकिने उल्लेख गरे ।। मुख्यमन्त्री कार्कीले प्रादेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने योजना बनाएको जानकारी दिए । उनले भने“ यो अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने र आयुर्वेद चिकित्सक र औषधि उत्पादन गर्ने सरकारको लक्ष्य छ ।” यसका लागि अध्ययन कार्यदल गठन गरिएको भन्दै उनले कार्यदलले दिएको प्रतिवेदनका आधारमा काम सुरु गर्ने जानकारी दिए । मुख्यमन्त्री कार्कीले डाक्टर खिमबहादुर कार्कीको नेतृत्वमा बनाएको कार्यदलले अब एक महिनामा प्रतिवेदन बुझाएपछि तत्काल काम सुरु गर्ने बताए । प्रादेशिक आयुर्वेद अस्पतालका निमित्त प्रमुख सिद्धार्थकुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य दिपक कार्की, प्रदेश सभा सदस्यहरु होमबहादुर थापा, राधाकृष्ण खनाल, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, दमक नगर प्रमुख रामकुमार थापा, गौरादह नगर प्रमुख छत्रपति सुवेदी, शिवसताक्षी नगर प्रमुख मेघाहाङ थोप्रा, गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशी, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

गत बैशाखमा सो अस्पताललाई दमक नगरपालिकाले साढे ३ लाख रुपैयाँ बराबरका बिभिन्न प्रकारका औषधि उपलब्ध गराएको थियो । सो अस्पतालको बारेमा भौतिक संरचना मात्र ठुलो भएको तर सेवा विस्तार हुन नसकेको गुनासो रहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १० : १५ बजे