३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

हार्डवेयर पसलमा भेटवालले राजवंशीलाई डुबाए



झापा, साउन ३२ / साझेदारहरुका कारण झापाको बिर्तामोड–२ चारपाने निवासी तिलकचन राजवंशीको यतिबेला बेहाल भएको छ । ५० लाख रुपैयाँ शेयर हाल्ने भनेर व्यवसायमा हात हालेका उनी अहिले अढाइ करोडभन्दा बढीको ऋणमा डुबेका छन् । बिर्तामोड–२ चारपानेका युनिस भेटवाल र बिर्तामोडका लब मैनालीले संयुक्त रुपमा तीन वर्षअघि चारपानेमा ओम शिवम् ट्रेडर्स नामक हार्डवेयर होलसेल पसल सञ्चालनमा ल्याएका थिए । मैनालीले व्यवसाय छोडेपछि तिलकचन र बिर्तामोडका धर्मप्रसाद संग्रौला जोडिए । त्यसपछि उनीहरुले साविक ओम शिवम् ट्रेडर्सको नाम परिवर्तन गरी ओम शिवम् ट्रेडर्स प्रालि राखे । तीन सदस्यीय नयाँ कम्पनीमा संग्रौलाले ५० लाख र आफूले ५० लाख रुपैयाँ शेयर हाल्ने सहमति भएको राजवंशीले बताए । पुरानो कम्पनीको दायित्व नयाँ कम्पनीले तिरोभरो गर्ने कम्पनीको प्रबन्धपत्रमा उल्लेख थियो । तर, राजवंशीले भने सो विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । राजवंशीको नाममा बिर्तामोड–२ मा रहेको एक कठ्ठा १२ धुर र कम्पनीको नाममा रहेको तीन कठ्ठा जग्गा राखेर एनआइसी एसियाको सुरुङ्गा शाखाबाट पाँच करोड ५० लाख रुपैयाँ ऋण निकालिएको छ ।

‘मैले ५० लाख शेयर हाल्ने गरी कम्पनीका अध्यक्ष युनिस भेटवालले धनीपुर्जा लग्नुभएको थियो’ , उनले भने, ‘पछि मालपोतमा जग्गा रोक्का गर्न जाँदा २ करोड २४ लाख ऋण निकाल्न लागिएको बुझेपछि मैले हुँदैन भनेँ तर यो भ्यालुएसन मात्र हो तपाईंको ऋण ५० लाख मात्र हो भनियो ।’

कम्पनीका अध्यक्ष युनिसका बुबा मनोरथ भेटवाल र बैंकका कर्मचारीको मिलेमतोमा अधिक मूल्यांकन गरेर ऋण निकालिएको राजवंशीको आरोप छ । ‘मेरो जग्गा राखेर कति ऋण निकालियो भनेर पटक–पटक बैंकमा गएर सोध्दा कुनै जवाफ आएन’, उनले गुनासो पोखे, ‘पछि दुई÷चार जना लिएर जाँदा मात्र थाहा भयो, भनेको भन्दा धेरै ऋण निकालिएको रहेछ ।’

कम्पनीको खातामा रहेको पैसा सञ्चालकहरुको आधिकारिकपत्र बिना असम्बन्धित व्यक्तिको खातामा पठाउन नमिल्ने प्रावधान भएपनि बैंकका कर्मचारी र कम्पनीका अध्यक्ष युनिसका बुबा मनोरथको मिलेमतोमा ऋण स्वीकृति भएकै दिन पैसा पुरानो कम्पनी र असम्बन्धित व्यक्तिको खातामा पठाएको उनले बताए । ओम शिवम् ट्रेडर्स प्रालिको खाताबाट मिति २०७९ माघ २५ गते एक करोड ७९ हजार रुपैयाँ असम्बन्धित व्यक्ति होमनाथ मिश्रको नाममा पठाएको बैंकको रेकर्डमा देखिन्छ । एनआइसी एसिया बैंक सुरुङ्गा शाखाले नियमविपरीत कम्पनीको खाताबाट रकम असम्बन्धित व्यक्तिको खातामा रकम पठाएको राजवंशीको आरोप छ । राजवंशीले बिहीबार सुरुङ्गामा पत्रकार भेटघाट गरी एनआइसी एसिया बैंकका कर्मचारीले बद्मासी गरेको आरोप लगाएका छन् ।

कम्पनीको नाममा सोही दिन पाँच करोड ५० लाख रुपैयाँ ऋण स्वीकृत भएको थियो भने पुरानो कम्पनीको नाममा देखिएको ऋण चार करोड पाँच लाख सात हजार रुपैयाँ सोही दिन तिरेको बैंकले राजवंशीलाई उपलब्ध गराएको स्टेटमेन्टमा उल्लेख छ । पैसा पठाइएको विषयमा पनि आफू अनविज्ञ रहेको राजवंशीको भनाइ छ । करिब एक वर्षदेखि कम्पनी बन्द छ । बैंकले कर्जाको किस्ता तिर्न आफूलाई बारम्बार ताकेता गरिरहेको राजवंशी बताउँछन् । हाल कम्पनीका अध्यक्ष युनिस सम्पर्कविहीन छन् ।

बैंकको ऋणका कारण अर्का सञ्चालक धर्मप्रसाद संग्रौला र राजवंशीको बिचल्ली भएको छ । राजवंशीको सम्पत्तिको नाममा बैंकमा धितो रहेको एक कठ्ठा १२ धुर जग्गा मात्र छ ।

यस विषयमा बुझ्नलाई बैंकका मेनेजरलाई ९८०७९६३५०० मा पटक–पटक सम्पर्क गर्दा फोन लाग्न सकेन । बैंकमै सञ्चारकर्मीको टोली पुगेर घटनाका सम्बन्धमा बुझ्ने प्रयास गर्दा बैंकका मेनेजर भेटिएनन् । अन्य कर्मचारीले भने सञ्चारकर्मीको टोली पुग्नेबित्तिकै प्रहरीलाई खबर गरेका थिए । राजवंशीका अनुसार गत जेठ महिनासम्म साँवा र ब्याज गरेर बैकमा ५ करोड ९१ लाखबढी रुपैयाँ भइसकेको छ । पीडित राजवंशीले न्यायका सरोकारवाला निकायसँग अपिल गरेका छन् ।

(प्रतिदिन दैनिक अनलाइनबाट साभार)

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ८ : २१ बजे