२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते



काठमाडौं- नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार बिहान त्रिभुवन विमानस्थलमा  भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सौर्य एयरलाईन्सको सीआरजे सेभेन (आईजी ९एनएएमई) जहाज दुर्घटनामा परेको जनाएको छ।

उक्त जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ बजे पोखरा उडानका क्रममा रनवे छाड्नेबित्तिकै दाहिनेतिर मोडिन गई एयरपोर्टको पूर्वतिरको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै १८ जनाको शव घटनास्थलबाट संकलन गरिएको जानकारी दिएको छ।

दुर्घटनामा क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलबाट निकालिएको शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। 

प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार सौर्यको ९ एन-एएमई/सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ मिनेटमा जहाज पोखराका लागि उडेको हो। 

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिएर रनवेको पूर्वमा दुर्घटना भएको हो।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  २ : ०८ बजे