२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब



काठमाडौं– नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–८१ मा एक खर्ब ३४ अर्ब ऋण थप भएसँगै कुल ऋण २४ खर्ब ३३ अर्ब नाघेको हो ।

चालु आवको सुरुवातसम्म सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रुपैयाँ थियो । वैदेशिक मुद्रा समायोजनपछिको कुल ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । सरकारले यस वर्ष २ खर्ब ४० अर्ब आन्तरिक ऋण परिचालनको लक्ष्य राखेको थियो । प्राप्ति २ खर्ब ३४ अर्ब ४२ करोड रुपैयाँ भएको छ । यो ९७.६८ प्रतिशत उपलब्धि भएको कार्यालय जनाएको छ ।

बाह्य ऋण २ खर्ब १२ अर्ब उठाउने लक्ष्य रहेकोमा प्राप्ति १ खर्ब २३ अर्ब रुपैयाँ भएको छ । यो लक्ष्यको ५८.१० प्रतिशतमात्र हो । कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–८१ मा ऋण सेवा खर्चमा ३ खर्ब ३० अर्ब बजेट विनियोजन भएकोमा असार मसान्तसम्म ३ खर्ब ५ अर्ब भुक्तानी भएको छ । यो वार्षिक बजेटका आधारमा ९२.५४ प्रतिशत हो भने कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आधारमा सार्वजनिक ऋणको प्रतिशत ५.३५ प्रतिशत रहेको छ ।

एक वर्षको अवधिमा सरकारले आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब ८२ अर्ब खर्च गरेको छ । आन्तरिक ऋणको ब्याज भुक्तानीमा ४९ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा ४० अर्ब ७२ करोड र ब्याज भुक्तानीमा ९ अर्ब २६ करोड रुपैयाँ खर्च भएको देखिएको छ । एक वर्षमा कुल साँवा भुक्तानी २ खर्ब २३ अर्ब र ब्याज भुक्तानी ८२ अर्ब ३ करोड रुपैयाँ बराबर भएको छ । कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड अर्थात् जीडीपीको २०.७० प्रतिशत र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड अर्थात् जीडीपीको २१.९५ प्रतिशत पुगेको छ ।

आर्थिक वर्ष २०८०–८१ मा सरकारले चार खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा असार मसान्तसम्ममा तीन खर्ब ५८ अर्ब ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७९.०८ प्रतिशत छ । गत आर्थिक वर्षका लागि ऋण परिचालनको लक्ष्यमध्ये आन्तरिक ऋण प्राप्ति ९७.६८ र बाह्य ऋण ५८.१० प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १० : १२ बजे