४ श्रावण २०८१, शुक्रबार | Sat Jul 20 2024

‘राजवंशी’ जातिय कि सम्पर्क भाषा ?


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares

20200302_224808

इन्द्रसिंह राजवंशी

राष्ट्रिय भाषाको मान्यता पाएको खस भाषा एउटा जाति बिशेषको होइन । सोही प्रकार राजवंशी भाषा पनि राजवंशी जातिले मात्र बोल्ने गर्दैनन् । एउटा सिंगो समुदायले त्यो भाषालाई मातृभाषाको रुपमा प्रयोग गर्छन् । तराईमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, गनगाई, माझी, मधेसी मुस्लिम, पूर्वका चौधरी, धिमाल लगायत आठ जातिले एउटै मातृभाषा प्रयोग गर्ने गरेका हुन् ।

प्रादेशिक हिसाबले १ नं प्रदेशमा करिव ७ लाख भाषीले एउटै मातृभाषा बोल्ने गरेको कोचिला राष्ट्रिय मुक्ति मोर्चाको दावी छ । झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी जातिको मात्र जनसंख्या डेढ लाख भन्दा बढी पुगेको अनुमान गरिन्छ । २०६८ सालको जनगणनाले राजवंशी जातिको जनसंख्या १ लाख १५ हजार २ सय ४२ र भाषा वक्ताको संख्या १ लाख २२ हजार २ सय १४ निकालेको थियो । झापा जिल्लाको जनसंख्या ८ लाख १२ हजार ६ सय ५० रहेकोमा राजवंशीको संख्या ८३ हजार ६५ रहेको थियो । खस समुदायपछि दोस्रो स्थानमा राजवंशी भाषी आउँछन् ।

त्यस्तै मोरङको जनसंख्या ९ लाख ६५ हजार ३ सय ७० रहेकोमा राजवंशीको संख्या ३६ हजार ३ सय ८५ रहेको थियो । त्यसैगरी सुनसरीको ७ लाख ६३ हजार ४सय ८७ जनसंख्यामध्ये राजवंशीको संख्या १ हजार २ सय ६२ निकालिएको थियो ।
शब्द र उच्चारण एउटै छ । तर राजवंशी जाति र उनीहरुसँग मिल्ने अरु जातिहरुले आफूले बोल्ने भाषाको नाम फरक– फरक भन्ने गरेका छन् । मुख्य जाति ठान्ने राजवंशीहरुले आफूहरुले बोल्ने भाषालाई राजवंशी भाषा भन्ने गरेका छन् भने ताजपुरिया,गनगाई,माझीलगायतका जातिले सुरजापुरी भनेर दावी गर्छन् । भाषामा देखिएको त्यो विवाद बर्षौदेखि कायम छ । तर त्यसलाई मिलाउन जातीय अगुवाहरु अग्रसर भएका छैनन् । गैर राजवंशीहरु आफूहरुले त्यसलाई सदियौंदेखि मातृभाषाको रुपमा प्रयोग गर्दै आएको बताउँछन् । अर्कोतिर भारत किसनगञ्जको सुरजापुर प्रगन्नामा बस्नेहरुले सुरजापुरी भाषा बोल्ने गरेको र पछि बसाइ सरी आएर उनीहरुले आफ्नो भाषा सिकेको राजवंशी अगुवाहरुको दावी छ । राजवंशी भाषालाई पछि गएर कामतापुरी भाषा र केही बर्षयता कोच भाषाको रुपमा पनि भनिने गरिएको छ । भारत पश्चिम बंगालको कामतापुरी आन्दोलनसंग जोडेर कामतापुरी भाषा र पूर्वी नेपालमा उठेको कोचिला आन्दोलनप्रति विभिन्न जातजातिको समर्थन जुटाउन कोच भाषा पनि भनिन थालिएको हो ।

जेसुकै नाम दिइएपनि यो भाषा संस्कृत भाषाबाट उद्भव भएको हो । जल, अग्नि, स्नान जस्ता संस्कृत शब्दहरु राजवंशीमा हु–बहु प्रयोग गरिन्छ । त्यस्तै प्रायजसो बंगाली,मैथिली,हिन्दी र आसामीया शव्दहरु पनि प्रयोग गरेको पाइन्छ । धेरै भाषाहरुको समीश्रण रहेको राजबंशी भाषालाई अरु जातिले सजिलै बोल्न र लेख्न सक्ने सरल र मिठासपूर्ण छ । जस्तै “म घर जान्छु”लाई राजवंशी भाषामा “मुई घर जाम” भनिन्छ । भाषाको अध्ययन गरिरहेका कतिपयले भोटवर्मेली भाषाबाट राजवंशीं भाषाको उत्पति भएको दावी पनि गर्ने गरेका छन । जस्तै एउटै अर्थ दिने च्याङबा र चेङग्रा,मईच्याङ र माई उस्तै–उस्तै शब्दहरु हुन् । तर यसो भनिरहँदा राजवंशी भाषामा मौलिकता नभएको चाहिँ होईन ।राजवंशी भाषामा यस्ता शब्दहरु छन् जसको सटिक अर्थ लाग्ने अरु भाषामा शब्द नै छैन । भारतमा बेलायती शासकको शासनकालमा राजवंशी भाषा प्रचलनमा रहेको जर्ज अब्राहम गियरसनले लंगिस्टिक सर्भे अफ इन्डिया नामक पुस्तकमा लेखेका छन् ।कोच राजवंशीहरुको इतिहासलाई खोतल्दा १५ औं शताब्दीदेखि कोच शासकहरुले शासन गरेको पाईन्छ । कोचहरुको पहिलो राजा बिश्वसिंह हुन् । सन् १९४७ मा २२ औं राजाको रुपमा जगदीपेन्द्र नारायणले अन्तिम शासन गरेका थिए ।

राजवंशी भाषामा साहित्यिक लेखन शुरुवात भएको धेरै भएको छैन । राजवंशी भाषा साहित्यको विकास राजवंशी भाषा प्रचार समिति गठन भएदेखि शुरु भएको हो । २०४० सालमा प्रकाशित राजवंशी भाषा प्रचार समितिको मुखपत्र उदयलाई पहिलो कृतिको रुपमा दावी गरिएको छ । यद्यपि त्यसअघि पनि धेरै कृतिहरु छापिसकेको थियो । त्यसअघि राजवंशी भाषा प्रचार समितिका संस्थापक फूलसिंह राजवंशीद्वारा लिखित सामाजिक उपन्यास ‘माला’, समाज उपयोगी पुस्तक ‘बहुबेटी बाचाअ’, ‘साधारण शब्दावली’, ‘राजवंशी भाषा साहित्य’, ‘संस्कृति आर इतिहास’, ‘राजवंशी संस्कृति’ र २०३० सालमा उनकै सम्पादनमा ‘भोर’ सामयिक संकलन प्रकाशित भएको थियो राजवंशी भाषा प्रचार समितिका केन्द्रीय उपाध्यक्ष ठकनु राजवंशीद्वारा लिखित समाज उपयोगी पुस्तक ‘राजवंशी समाज’, २०५७ सालमा राजवंशी भाषा प्रचार समिति गाउँ समिति केरौनबाट प्रकाशित ‘राजवंशी समाजेर स्वपहिचान’ नामक पुस्तिका तथा अप्रकाशित उपन्यास ‘अतितेर सुनयना’लाई लिन सकिन्छ ।

देश माओवादी द्वन्द्वमा फसिसकेपछि केही बर्ष अरु भाषाजस्तै राजवंशी भाषाको विकास पनि ठप्प हुन पुग्यो । तर त्यही अवधिमा मेची अंचलमा स्थापित पहिलो एफएम कन्चनजंघा एफएमले स्थापनाको एक बर्षपछि २०६० सालदेखि स्थानीय भाषाको समाचार भनेर राजवंशी भाषाको समाचार शुरु ग¥यो ।लोकतन्त्रको उदयसंगै संचार क्षेत्र फस्टाउने क्रममा एकपछि अर्को गर्दै झापामा खोलिएका अन्य एफएम रेडियोहरुले पनि राजवंशी भाषाको समाचार र कार्यक्रमलाई प्राथमिकता दिए । पाथीभरा एफएमले शुरुवातीकाल २०६३ सालदेखि नै राजवंशी भाषाको समाचार प्रसारण गर्न थाल्यो । त्यसैगरी रेडियो सनराईजले पनि २०६६ सालदेखि राजवंशी भाषाको समाचार प्रसारण गरेको देखिन्छ । त्यस्तै एफएम मेची ट्यून्स,आँगन एफएम र नागरिक एफएमले पनि राजवंशी भाषालाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरेको पाईन्छ । यद्यपि कार्यक्रम संचालकको अभाव ,एफएमले ब्यबस्थापन गर्न नसक्नु जस्ता कारणले राजवंशी भाषाको समाचार र कार्यक्रमले निरन्तरता पाउन सकेन ।कंचनजंघा एफएमले अहिलेसम्म दैनिक रुपमा राजवंशी भाषाको समाचार र कार्यक्रम प्रसारण गरिरहेको छ भने अरु एफएमहरुमा सधैंका लागि बज्न सकेन ।२०५४ सालदेखि नेपाली पत्रकारिता थालेका इन्द्रसिंह राजवंशी शुरुमा जातीय रुपमा एक्ला थिए । एफएम र पत्रपत्रिकाहरु खोलिने क्रमसंगै पत्रकारितामा राजवंशी जातिको पहुँच बढ्दै गयो ।अहिले एक दर्जनभन्दा बढी पत्रकारहरु राष्ट्रिय र स्थानीयस्तरका बिभिन्न मिडियामा क्रियाशील छन् ।संचारसंगै मनोरंजन क्षेत्रमा पनि राम्रो विकास भएको छ ।अहिलेसम्म १५ वटा चलचित्र निर्माण भएको छ भने ६ दर्जनभन्दा बढी गीति एल्बम बजारमा छन् । त्योसँगै २०६८ सालदेखि मिस राजवंशी प्रतियोगिता हुँदै आएको छ ।

राजवंशी भाषा प्रचार समितिका केन्द्रीय सचिव गोपालप्रसाद राजवंशीद्वारा लिखित कथा संग्रह ‘बेसाती’, महेशपुरकी शर्मिला राजवंशीद्वारा रचित ‘राजवंशी भाषा आर फूलसिंह’ जस्ता कृतिहरु उल्लेख गर्नुपर्ने हुन्छ । महेशलाल राजवंशीद्वारा रचित कविता संग्रह ‘ह्रदय पंक्षी’ २०२२ सालमा प्रकाशित भएको थियो । सम्भवत राजवंशी भाषाको यो नै प्रथम कविता संग्रह हो । उनकै दोस्रो कविता संग्रह ‘मोर जिन्दगी’ २०५६ सालमा प्रकाशित भयो । घैलाडुब्बाबाट २०२५ सालमा पदमप्रसाद राजवंशीको सम्पादनमा ‘हामार भाषा’ सामयिक संकलन प्रकाशित भयो भने २०५९ सालमा ‘समय आर हामा’ नामक अर्को कविता संग्रह प्रकाशित भयो । त्यसैगरी २०६१ सालमा ‘तीन ढेङरेत’ नामक लघु नाटक प्रकाशित भयो । २०२६ सालमा चकचकीबाट रामबहादुर राजवंशीको सम्पादनमा ‘जन्हाक’ नामक सामयिक संकलन छापियो ।

२०५० सालमा जगतबहादुर राजवंशी सम्पादक र रणबहादुर राजवंशी प्रकाशक रहेको ‘धूप’ नामक कविता संग्रह प्रकाशित भयो । उनीहरुले ‘धूप’को अर्को संस्करण निकाल्ने तयारी गर्दैछन् । २०५२ सालमा साहित्य प्रतिभा प्रतिष्ठान हल्दिबारीबाट भूमिलाल राजवंशीको सम्पादनमा ‘राजवंशी साहित्य’ प्रकाशन भयो भने २०५९ सालमा उनीद्वारा नै रचित नेपाली भाषामा ‘राजवंशी जातिका पुजापर्वहरु’ नामक पुस्तक प्रकाशित भयो । २०५७ सालमा रणकुमार राजवंशीको सम्पादनमा ‘हामार कविता संग्रह’ प्रकाशित भयो । २०५७ सालमै दुर्गाचन्द्रसिंह राजवंशीद्वारा नेपाली भाषामा रचित ‘राजवंशी कोच जातिको धर्म र संस्कृति’ नामक पुस्तक प्रकाशित भयो । सोही वर्ष फूलसिंह राजवंशीको सम्पादन र पवन राजवंशीको निर्देशनमा ‘जाँगरण’ नामक साहित्यिक पत्रिका प्रकाशित भयो । २०५५ सालमा काठमाण्डौंबाट पामर राजवंशीको ‘राजवंशी संसार’ नामक पुस्तक प्रकाशित भएको देखिन्छ । २०५६ सालमा जिल्ला कटिहार विश्वदिघी भारतका बसन्तकुमार दासको सम्पादनमा ‘राजवंशी भाषार कविता’ संकलन प्रकाशित भयो । २०६० सालमा पथरियाबाट जोगेन्द्रप्रसाद राजवंशीको रचना तथा सम्पादनमा ‘वेदना’ नामक कविता संग्रह प्रकाशित भयो । २०५३ सालमा घैलाडुब्बाका राजेन्द्रप्रसाद राजवंशी राजवंशीको सम्पादनमा ‘नैयाँ बागान’ नामक कविता संग्रह प्रकाशित भयो । २०६५ सालमा पवन राजवंशीले श्रीमद् भागवत गीता राजवंशीमा अनुवाद गरेका छन् । त्यसैगरी श्याम डाङराको रचनाहरुको गजल संग्रह ‘गालार हार’ प्रकाशित भयो । २०६८ सालमा श्याम डाङराकै रचनाहरुको ‘निलो तृष्णा’ नामक गजल संग्रह नेपाली र राजवंशी गरी दुईवटा भाषामा प्रकाशित भयो । त्यसैगरी ‘राजवंशी भाषाको मौलिक गीतहरु’ नामक परम्परागत गीतहरुको संग्रह २०६९ सालमा प्रीतमकुमार राजवंशीले निकालेका छन् ।त्यस्तै २०६१ सालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको योजनामा कोच राजवंशी भाषामा शब्दकोष र व्याकरण निर्माण गरिएको छ ।

पत्रपत्रिकाका हिसाबले २०५७ सालको असोजमा पहिलोपटक जागरण त्रैमासिक पत्रिका प्रकाशित भएको थियो । त्यसपछि इन्द्रसिंह राजवंशी, भूमिलाल राजवंशी र लखनलाल राजवंशीको संयुक्त प्रयासमा आङराधुम्ना नामक पाक्षिक पत्रिका निस्कन थाल्यो ।तर त्यसले धेरै समय निरन्तरता पाउन सकेन ।त्यसपछि लखन राजवंशीले जगत राजवंशीसंग मिलेर पानसुपारी पाक्षिक पत्रिका प्रकाशन गरे । त्यो पनि चलेन । २०५८ सालमा महेशपुुरका पुकारचन्द्र राजवंशीको सम्पादनमा राजवंशी सान्दुस नामक मासिक पत्रिका पनि केही अंक छापियो । प्रकाशन भएको केही महिनामै बन्द भइहाल्ने क्रमकाबीच पवन राजवंशीले बिचन साप्ताहिक निकाल्न शुरु गरे । अरुको जस्तै बिचनको पनि बिजोग भयो ।त्यही दौरानमा पछिल्लो समयमा इन्द्रसिंह राजवंशी र अर्जुन राजवंशीले नयाँ बिचन साप्ताहिक निकालेको देखिन्छ ।कुनै पनि पत्रिका दीगो र व्यावसायिक हिसाबले नचलेको देखेर करिब ६ वर्षयता कसैले पनि फेरि पत्रिका निकाल्ने हिम्मत गर्न सकेका छैनन् । हुन त गोरखापत्र देनिकले भाषाभाषीका लागि छुट्याएको पृष्ठमा करिब चार बर्षदेखि महिनाको दुईपटक राजवंशी भाषाको सामग्रीहरु प्रकाशित हुँदै आएको छ ।

साहित्यिक लेखनमा फूलसिंह राजवंशी,पवन राजवंशी,दलसिंह राजवंशी,लखन राजवंशी,पदम राजवंशी, जगत राजवंशी ,श्याम डांग्रा,भीमराज राजवंशी, पानीलाल राजवंशीजस्ता ब्यक्तित्वहरु संझनयोग्य छन् । छिटपुट रुपमा फुटकर कृतिहरु प्रकाशित भएपनि ठूला कृतिहरु भने अहिलेसम्म निस्कन सकेका छैनन् । कमजोर आर्थिक अबस्थाका कारण आफ्नो खर्चले निकाल्ने क्षमता देखिदैन भने सहयोगी हात भेट्न मुश्किल पर्ने गरेको छ । राजवंशी भाषाको आफ्नै लिपि छ । बंगाली र आसामीया लिपिसंग मिल्दोजुल्दो भएपनि प्रचलनमा आईसकेको छैन ।देवनागिरी लिपिलाई नै प्रयोग गर्ने गरिएको छ । ३६ वटा ब्यञ्जन वर्णमध्ये २८ वटा मात्र प्रयोग गरिन्छ । राजवंशी भाषामा ञ,ण,व,श,ष,क्ष,त्र र ज्ञको प्रयोग गरिदैन । त्यस्तै १३ वटा स्वर वर्णमध्ये ६ वटा मात्र प्रयोग गर्ने गरिएको छ । दीर्घ प्रयोग नगरिने राजवंशी भाषामा ई र ऊसँगै ऋ, ऐ, औ, अं र अःलाई हटाइएको छ । राजवंशी भाषामा शब्दकोष र ब्याकरण तयार गरिसकिएको छ भने पाठ्यपुस्तक पनि निर्माण भएको छ ।तर दुःखको कुरा सामुदायिक बिद्यालयमा पठनपाठन हँुदै आएको राजवंशी भाषाको पाठ्यक्रमलाई अहिले हटाईएको छ ।पाठ्यपुस्तक बिकास केन्द्र सानोठिमीले सो पाठ्यपुस्तक तयार पारेको थियो । सामुदायिक बिद्यालयमा बन्द भएपनि मोरङका चारवटा निजी बिद्यालयमा भने पठनपाठन भईरहेको छ । देशको बिकासको मुख्य जड नै भाषा हुनुपर्ने हो । तर नेपालमा अंग्रेजी जान्ने झन्–झन् धनी हुने,नजान्ने झन्–झन् तल पर्ने परम्परा संस्कृतिले राष्ट्रिय र राष्ट्र भाषाप्रतिको आकर्षण घट्दै गएको छ । अंग्रेजी बोल्न जान्ने उच्चस्तरीय,नजान्ने निम्नस्तरीय ठानिन्छ नेपालमा ।हामी मातृभाषीहरुले आफ्नो मातृभाषाको माया गरेपनि राज्यले बिलकुलै वास्ता गरेको छैन भन्दा गाह्रो नपर्ला । स्थानीय तहले बिभिन्न जातजातिको भाषा र लिपि जगेर्नाका लागि सामान्य बजेट छुट्याउँदै आएको थियो । तर त्यो पनि बन्द गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : ०५ बजे