१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार



मन्त्रिपरिषद बैठकले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र बनाउन नपर्ने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरोले गर्दा असहज परिस्थिति सिर्जना भएकोले तत्कालका लागि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य भनेपछि विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा बृद्धबृद्धा सेवा लिन पुगेका थिए।

‘सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय भएकोमा मुलुक विभिन्न स्थानहरूमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि पत्र आवश्यक नपर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,’ उनले भनिन्।

सरकारले पहिलो चरणमा देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा बनाउनुपर्ने बताएको थियो। प्रशासन कार्यालयहरूमा भिड बढेपछि गृहले कर्मचारीसमेत थपेको थियो।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १० : २५ बजे