२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

गौरीगंज गाउँपालिका र करुणा फाउण्डेशनबीच सम्झौता पत्रमा हस्ताक्षर, अपांगता क्षेत्रमा काम गर्ने



गौरीगंज १८, असार / गौरीगंज गाउँपालिका र करुणा फाउण्डेशनबीच आज मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र करुणा फाउण्डेशन नेपालका तर्फबाट कार्यक्रमका व्यवस्थापक सन्तोष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । जन्मजात हुने अपांगता न्युनीकरण, जन्म पश्चात् विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका ब्यक्तिको पुर्नःस्थापना लगायतका कार्यक्रम सञ्चालन गर्न गौरीगंज गाउँपालिका, प्रदेश सरकार र करुणा फाउण्डेशनको त्रीपक्षिय साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने अनुरुप तीन वर्षका लागि सम्झौता भएको हो । गौरीगंज गाउँपालिकाले करिब १८ लाख, करुणा फाउण्डेशनले १८ लाख र प्रदेश सरकारले गरी करिब ५५ लाख ३ हजार २ सय पचहत्तर रुपैयाँमा उक्त कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सोही अनुसार गौरीगंज गाउँपालिकाले आव २०८१ /८२ को वार्षिक वजेटमा समेत उक्त कार्यक्रका लागि बजेट विनियोजन गरेको छ ।

अपाङ्गता भएका तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरणका, शिक्षा, स्वास्थ्य तथा सहायक सामग्रीको व्यवस्थापन तथा विभिन्न क्षमता विकासका साथै विविध तालिम समेत प्रदान गर्ने करुणा फाउण्डेसन नेपालका प्रतिनिधि तथा कार्यक्रमका व्यवस्थापक सन्तोष घिमिरेले बताए । कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवँर, प्रमुख प्रशासकीय अधिकृत खेम थापा, प्रशासकिय अधिकृत विरेन्द्र खड्का, योजना शाखा प्रमुख नारायण प्रसाद चँदरा, महिला सूचना केन्द्रकी प्रमुख निशा सिंह, करुणा फाउण्डेसन नेपालका प्रतिनिधि तथा कार्यक्रमका व्यवस्थापक सन्तोष घिमिरे करुणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत अंकित पाठक, वार्ड नं. ४ का वडा अध्यक्ष फेका गिरी, वार्ड नं. ५ का वडा अध्यक्ष विजय सिंह गन्गाई, कार्यपालिका सदस्य राधा अधिकारी, अघनुप्रसाद राजवंशी,रिता तामाङ्ग र सन्तलाल ताजपुरिया, अपांगता सहयोग समिति गौरीगंजका अध्यक्ष शेर बहादुर बुढाथोकीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ५ : १७ बजे