२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

धान किसानको, मूल्य व्यापारीको



ब्यापारीले तोकेकै मुल्यमा चैते धान बेच्न किसान बाध्य

गौरीगंज २९, जेठ / चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान निराश भएका छन् । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य नतोकिएको हुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले यस्तो समस्या देखिएको हो । लागत अनुसार धानको मूल्य नपाएको भन्दै सरकारले उचित मूल्यमा धान खरिदको ग्यारेन्टी लिनुपर्ने अगुवा किसानको छ ।

यहाँका किसान गत फागुन र चैतमा चैते—२ , चैते—४ र विजी जातको चैते धान लगाएको थियो । तर अहिले धानको उचित मूल्य नपाउँदा किसान चिन्तित भएका हुन् । गौरीगञ्ज गाउँपालिका—६ खजुरगाछीका किशोर महतोले केही दिन अघिसम्म प्रतिमन रु ११ सय ५० बिक्री हुँदै आएको चैते धानको मूल्य दिनदिनै ओरालो लाग्ने क्रममा रहेको बताए । उनले भने, “बजार मूल्य मनपरी छ, किसानले मेहेनतले फलाएको धानले उचित मूल्य नपाउँदा यहाँका किसान निराश भएका छन् ।”

यहाँका गल्ला व्यापारी र धान मिल सञ्चालकको मिलेमतोमा धानको मूल्य घटाउने गरेको किसानको भनाइ छ । विचौलियाका कारण यहाँका किसान सस्तो मूल्यमा धान बेच्न बाध्य हुनुपरेको गौरीगञ्ज— ३ का किसान गंगाप्रसाद राजवंशीले बताए।
प्रतिमन न्यूनतम रु १२०० मूल्य पाउनुपर्नेमा यतिबेला गल्ला व्यापारी र धान मिल सञ्चालकको मिलोमतोमा प्रतिमन रु ९ सय देखि ९ सय २० मा पनि धान खरिद गर्न आनाकानी गर्ने गरेको उनको भनाइ छ । उनले भने, “चैते धानको बजार मूल्यमा किसानलाई वर्षेनि यस्तै समस्या झेल्नुपरेको छ, त्यसैले चैते धानको न्यूनतम समर्थन मूल्य सरकारले निर्धारण गरिदिनुपर्छ ।”
जिल्लामा २१ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा चैते धानको खेती हुदै आएको छ । सबैभन्दा बढी जिल्लाको कन्काई सिञ्चाई आयोजना क्षेत्रमा चैते धानको खेती हँुदै आएको छ । कन्काई नहरको पँहुचमा रहेका शिवसतासी, गौरीगञ्ज, गौरादह तथा कमल गाउँपालिकाका केही स्थानहरुमा चैते धानको अत्यधिक हुने गरेको बताइएको छ ।

यसैगरि जिल्लाको बनियानी, कचनकवल, झापा गाउँपालिका, बिर्तामोड, बुधबारे, दमक क्षेत्रमा पनि साना सिंचाई तथा भूमिगत सिंचाईबाट पनि चैते धानको खेती हुँदै आएको छ । चैते धान प्रतिहेक्टर ५ दशमलव ६ मेट्रिक टन उत्पादन हुँदै आएको छ ।

पछिल्ला दिनमा सिंचाई र जोत्नका लागि आधुनिक प्रविधिका ट्याक्टर, थ्रेसर तथा पावर टिलरको बढ्दो प्रयोगले समेत धान खेतीतर्फ किसानको आकर्षण बढ्दो छ । तर लागत अनुसारको उचित मूल्य नपाउँदा यसतर्फ किसान निरास हुँदै गएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ८ : ५४ बजे