१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रधानमन्त्री दाहाल मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन आज भारत भ्रमणमा जाने



काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् । 

प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उहाँबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । 

प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए । 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत वर्ष जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए । 

सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।  यसअघि मोदीले भारतको नेतृत्व सम्हाल्ने बित्तिकै अवलम्बन गरेका ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए । रासस

https://nepalipaisa.com/news-detail/70484

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ८ : १५ बजे