१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ओलीको गृह जिल्लामा एमाले अधिवेशन रोचक, पुराना नेताहरु पाखा लाग्दै



झापा १६, जेठ / नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका पालिकाहरुमा पार्टीको नेतृत्व चयनका लागि यतिबेला धमाधम अधिवेशन चलिरहेको छ।

अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा-५ अन्तर्गतका मुख्य पालिकाहरुमा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ।

२०७९ को स्थानीय तह निर्वाचनमा एमालेको पकड क्षेत्र मानिने यो क्षेत्रअन्तर्गतका पालिकाहरुमा नेतृत्व गुमाएको एमालेको यसपटकको अधिवेशनलाई पार्टीको आन्तरिक जीवन र बाह्य समुदायले समेत निक्कै महत्व र चासोसाथ हेरिरहेका छन्।

अध्यक्ष ओलीको नगर भने चिनिएको दमक नगरको यसपटकको अधिवेशनमा चौपक्षीय प्रतिस्पर्धा निक्कै रोचक बन्यो।

पार्टी अध्यक्ष ओली आफैँले १० जेठमा उदघाटन गरेको यो अधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन परिणामप्रति निक्कै गम्भीर अभिव्यक्तिहरु दिएका थिए। उनको मन्तव्यको आशय पार्टीका आन्तरिक एकता कमजाेर हुँदा स्थानीय सरकारको नेतृत्व गुमाउनुपरेको भन्ने थियो।

त्यसैलाई आधार मानेर अबको नेतृत्व सर्वसम्मत चयन गर्न कार्यकर्तालाई आन्तरिक निर्देशन गरेका ओलीको निर्देशन अन्तत टिकेन। ओलीले योसँगै नेतृत्व चयनमा ढिलाई नगर्न भन्दै दिएको निर्देशनको भने प्रतिनिधिहरुले पालना गर्दै ११ जेठमै मतदानको प्रक्रियामा जान सहमत देखिए।

अधिवेशनमा चार खेमा देखियो। अझ रोचक कुरा त अध्यक्ष ओलीको चाहनाअनुसार दमक नगर कमिटीको अध्यक्ष सभामुखसमेत रहेका देवराज घिमिरेका भाइ युवराज घिमिरेलाई बनाउनुपर्ने थियो।

तर अधिवेशनमा सहभागी प्रतिनिधिहरुले भने घिमिरेलाई चार प्रतिस्पर्धीमध्ये तेस्रो स्थानमा सीमित गरिदिए। निर्वाचनमा खसेको कूल ३५८ मतमध्ये निर्वाचनमा घिमिरेले ७५ मत प्राप्त गरे।

अध्यक्षमा युवा नेता रामप्रसाद पौडेल १६४ मत ल्याएर निर्वाचित हुँदै गर्दा अर्का प्रत्यासी कोशी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीका बहिनी-ज्वाइँ भगवान बस्नेतले ७७ मत ल्याएर सभामुख घिमिरेका भाइ घिमिरेलाई तेस्रो स्थानमा सीमित गरिदिए। अर्का प्रतिस्पर्धी सन्तोष दुलालले भने २५ मत ल्याएर चौथो अर्थात अन्तिम स्थानमा बस्नुपर्यो।

निर्वाचित पदाधिकारीतर्फ उपाध्यक्षमा उर्मिला ओली, सचिवमा गिरेन्द्र चम्लागाई, उपसचिवद्वयमा झसराज ढकाल र सीता कार्की निर्वाचित भए।

युवा संघ दमकका पूर्व अध्यक्ष तथा युवा फाँट इञ्चार्ज समेत रहेका पौडेलले पार्टीको उपल्लो तहका ठुला नेताहरुको समर्थनबिनै धेरै कार्यकर्ताको मन र मत दुवै जितेपछि अहिले एमालेको दमकमा मात्रै जिल्ला र जिल्ला बाहिरसमेत निक्कै ठुलो चर्चा परिचर्चा भइरहेको छ।

यसपटकको नगर अधिवेशनमा केही जनप्रतिनिधिहरु पनि कार्यकर्ताहरुबाट अनुमोदित हुन सकेनन्। उपाध्यक्षमा निर्वतमान उपाध्यक्षसमेत रहेका दमक-८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) र सहसचिवमा उम्मेदवारी दिएका युवा संघका निर्वतमान नगर अध्यक्ष डेन्जोङ लामा पनि अधिवेशनमा पराजित हुन पुगे।

शिवसताक्षीमा दंगाल र गौरादहमा घिमिरे

एमाले शिवसताक्षीको नगर अध्यक्षमा मेदनी दंगाल निर्वाचित भए।

पार्टीको दोस्रो नगर अधिवेशनबाट दंगाल २५४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै उपाध्यक्षमा विष्णुप्रसाद प्रसाई १९५ ,सचिव लक्ष्मी गुरागाईं २४१ ,उपसचिवमा सागर राई २१० र महिला उप–सचिवमा कल्पना चम्लागाईं (कोपिला) निर्विरोध निर्वाचित भएको जनाइएको छ।

उता गौरादम जहाँ मुख्यमन्त्री कार्कीको निर्वाचन क्षेत्र पनि पर्छ। यो नगरमा भने अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीको समर्थन पाएका गजेन्द्र घिमिरे नगर अध्यक्षमा निर्वाचित भएका छन्। उनले नेता अग्नी खरेलको समर्थन पाएका प्रकाश पराजुली र अर्का गुटरहित नेता युवा संघका पूर्वकेन्द्रीय सदस्य दुर्गा गौतमलाई पराजित गर्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन्।

ओलीको क्षेत्रमै पर्ने कमल गाउँपालिकामा पनि एमालेको नेतृत्व चयन गर्न मतदानको प्रकृया अपनाइएको छ। कमल गाउँ कमिटीको अध्यक्षमा हरि ढकाल सर्वसम्मत अध्यक्ष बनेपनि अन्य पदाधिकारीहरु तर्फ मतदानको विधिबाटै नेतृत्व चयन भएको बताइएको छ।

झापामा एमालेका गुटै गुट

अध्यक्ष ओलीको गृह जिल्ला एमाले भित्र गुटै गुट छन्। एमाले भित्र यसअघि नेता देवेन्द्र दाहाल, रोम ओली र दिपक कार्कीको समर्थनका तीन गुट रहेका भएपनि एक महिना अघि सकिएको जिल्ला अधिवेशनमा दुई गुट अन्तिम सम्म देखिएको थियो।

पालिकास्तरको अधिवेशनमा आइपुग्दा यसपटक चार वटा सम्म गुट देखिएका छन्। एमाले भित्र पुराना नेताहरु पाखा लाग्दै गएको देखिन्छ भने आर्थिक चलखेल गर्न सक्ने खालका र नव प्रवेशीहरुले भागवण्डाका नाममा र अधिवेशनबाटै पनि निर्वाचित भएर आफ्नो वर्चश्व राख्दै गएका देखिन्छ।

जिल्लामा यस अघिको गुट छिन्न भिन्न हुँदै एउटा गुटको नेतृत्व क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य समेत रहेका नेता एलपी साँवाले गरेका छन भने अर्को गुटको नेतृत्व दिपक कार्कीले गर्दै पार्टी जिल्ला नेतृत्वका लागि रस्साकस्सी गरेका थिए।

साँवाको समर्थन पाएका युवा नेता शिव ढुंगेल अन्तमा आएर अध्यक्षबाट ब्याक हुँदै उपाध्यक्ष बस्न राजि भए र कार्कीसहितको पार्टी मुल नेतृत्वको समर्थन पाएका प्रेम गिरी जिल्ला अध्यक्ष बनेका हुन्।

यतिबेला देवेन्द्र दाहाल राष्टिय सभामा संसदीय दलको नेता बनेपछि उनको लाइन भने झापामा कम्जोर जस्तै देखिन्छ। झापामा अर्को गुट चलाउने युवा नेता हुन गोविन्द थापा।

यसअघि पार्टीको नगर अधिवेशनमा पराजित भएका थापा केन्द्रमा रहेर ओलीको वरिपरि घुम्दै बसेका कारण केन्द्रीय सदस्यनै मनोनित भए। यसले उनलाई झापामा आफ्नो गुट चलाउन थोरबहुत बल पुग्यो तर यसपटकको गाउँ नगर अधिवेशनमा थापा पक्षधर उम्मेदवारहरु धमामध कार्यकर्ता पंक्तिबाट अनुमोदित हुन नसकी पाखा लाग्दै गएको एमाले वृत्तमा चर्चा छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ५ : ५८ बजे