११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

साढे ८ लाखले खाए हात्तीपाइलेको औषधि,गाैरीगंजमा ८७.७४ प्रतिशत मात्र



झापा, जेठ ११ । हात्तीपाइलेबिरुद्धको राष्ट्रिय आम औषधि सेवन अभियानको म्याद १० दिन थप्दासमेत भद्रपुर नगरपालिका असफल भएको छ ।

बैशाख १६ गतेदेखि ३० गतेसम्म निर्धारित अभियानलाई १० दिन म्याद थपेर जेठ १० सम्म पुर्याउँदासमेत भद्रपुरले लक्ष्य हासिल गर्न सकेन । नगरका ५४ प्रतिशतलाई मात्र औषधि सेवन गराउन सकेको भद्रपुरको नतिजा सबैभन्दा कमजोर बनेको हो ।

बैशाख १६ गतेदेखि ३० गतेसम्म अभियान संचालन हुँदा भद्रपुरले ४४.२७ प्रतिशतलाई औषधि सेवन गराएको थियो । थपिएको १० दिनमा त्यसलाई बढाएर ५४ प्रतिशत पुर्याएपनि लक्ष्य हासिल गर्न नसकेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए । भद्रपुरले गत वर्ष पनि ५३ प्रतिशतलाई औषधि सेवन गराएको थियो । भद्रपुरसंगै जिल्लाका ४ पालिकाले ८० प्रतिशतभन्दा कमलाई मात्र औषधि खुवाउन सकेका छन् ।

अर्जुनधाराले ७४.७९ प्रतिशत , हल्दिवारीले ७७.४२ प्रतिशत र दमकले ७९.४६ प्रतिशतलाई औषधि सेवन गराएका हुन् । सबैभन्दा बढी बिर्तामोडले १००.१२ प्रतिशत , बुद्धशान्तिले ९३.१८ प्रतिशत ,शिवसताक्षीले ९२.३२ प्रतिशत ,झापा गापाले ९०.९५ प्रतिशत ,कचनकवलले ८९.०५ प्रतिशत , गौरादहले ८७.७७ प्रतिशत , गौरीगञ्जले ८७.७४ प्रतिशत ,बाह्रदशीले ८६.७१ प्रतिशत ,कन्काईले ८५.३१प्रतिशत ,मेचीनगरले ८२.६९ प्रतिशत ,कमलले ८१.५८ प्रतिशतलाई हात्तीपाइलेको औषधि सेवन गराएका छन् ।

१० दिन म्याद थपिँदा हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रमअन्तर्गत झापाका ८३.९४ प्रतिशत अर्थात ८ लाख ५० हजार ६० जनाले औषधि सेवन गरेका छन् । कुल १० लाख १२ हजार ६४२ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको थियो । बैशाख १६ देखि बैशाख ३० गतेसम्म संचालित आम औषधि कार्यक्रमअन्तर्गत ७९.४६ प्रतिशतले औषधि सेवन गरेकोमा थपिएको म्यादमा संख्या बढेर ८३.९४ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय झापाका प्रमुख बाह्रकोटीले बताए ।

यसैबीच स्वास्थ्य कार्यालय झापाले यस अभियानलाई सफल बनाउन अहोरात्र खटिने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बिशेष धन्यबाद दिँदै उक्त अभियानलाई सफलतापूर्वक कार्यान्वयन गर्ने झापा जिल्लाका १५ वटै स्थानीय तह, प्रत्यक्ष वा अप्रत्यक्ष साथ दिने सम्पूर्ण जनप्रतिनिधि, शिक्षक तथा विद्यालय परिवार, सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरु, सहयोगी तथा साझेदार संघ संस्था र सरोकारवालाहरुप्रति आभार प्रकट गरेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ४ : ०९ बजे