३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

कोशी मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने



विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन्।

बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने तयारी रहेको छ।

प्रदेशसभाका सभामुख अम्बर बहादुर विष्टले मुख्यमन्त्रीले विश्वासको मत लिने आजको कार्यसूचीमा रहेको जानकारी दिए।

बैठकको कार्यसूची तयार गर्न आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी सरकारबारे अदालतमा मुद्दा विचाराधिन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने बताएका थिए।

तर, सत्तारूढ दलहरू एमाले र माओवादी केन्द्रले भने आज नै  विश्वासको मत सम्बन्धी प्रस्ताव लिने कार्यसूची तय गर्नुपर्ने बताएको थियो। आजको बैठकअघि पुनः कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामखु विष्टले जानकारी दिए। कांग्रेसले पनि बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको छ। कार्की वैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्री बनेका थिए।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : ४१ बजे